• २०८१ बैशाख १७ सोमबार

प्रदेश ७ मा राजपा नेताद्वारा राष्ट्रियसभा सदस्य निर्वाचन बहिष्कार

kharibot

धनगढी । राष्ट्रियसभा सदस्यका लागि प्रदेश नं ७ मा आज भएको निर्वाचनमा २२७ मतदाताले मतदान गरेका छन् । 

बिहान १०ः०० बजेदेखि शुरु भई अपराह्न ३ः०० बजे सकिएको मतदानमा ५३ प्रदेश सांसद र १७६ नगरपालिकाका प्रमुख तथा उपप्रमुख र गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष गरी २२९ मतदाता रहेका थिए । 

मतदानमा कैलाली जिल्लाबाट समानुपातिक कोटामा राष्ट्रिय जनता पार्टीबाट निर्वाचित सांसद मालमती रानाथारु र प्रदेशसभामा सोही पार्टीका प्रत्यक्ष निर्वाचित कृष्णबहादुर चौधरी अनुपस्थित रहेको जनाइएको छ । 

प्रदेश नं ७ मा दलित र अल्पसंख्यक अपांग समूहमा मनोनयन दर्ता गराएका उम्मेदवारबीच प्रतिस्पर्धा भइरहेको छ । दलिततर्फ नेपाली काँग्रेसका शेरीराम पार्की र नेकपा एमालेका चक्र स्नेही तथा अल्पसंख्यक अपांगतर्फ काँग्रेसका छत्रराज जोशी तथा नेकपा ९माओवादी केन्द्र०का महेशकुमार महरा उम्मेदवार रहेका छन् । 

खुला र महिलातर्फका गरी छ जना सदस्यमा काँग्रेसका बद्रीप्रसाद पाण्डेय, एमालेका शेरबहादुर कुँवर र माओवादी केन्द्रका हरिराम चौधरी, महिला समूहमा एमालेका इन्दु कडरिया र कमलाकुमार ओली, काँग्रेसका तारादेवी भट्ट भने यसअघि नै निर्विरोध निर्वाचित भइसकेका छन् । 

डोटीको सिलगढीमा भएको निर्वाचनको मतगणना केहीबेरमा शुरु हुन लागेको मुख्य निर्वाचन अधिकृत जयानन्द पनेरुले जानकारी दिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै