• २०८१ बैशाख १५ शनिबार

कर्मचारीलाई रसुवागढी हाइड्रोको २४ प्रतिशत सेयर, सर्वसाधारणले तेस्रो चरणमा मात्रै पाउने 

kharibot

काठमाडौं । रसुवा जिल्लामा निर्माणाधीन १११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत् आयोजनाले वित्तीय व्यवस्थापनका लागि भन्दै पहिलो चरणमा कर्मचारीलाई २४ प्रतिशत सेयर दिने तयारी गरेको छ ।

आयोजनाका प्रमुख कार्यकारी अधिकृत माधव कोइरालाले बुधबार नेपाल विद्युत् प्राधिकरणमा आयोजित कार्यक्रममा पहिलो चरणमा सञ्चय कोष, प्राधिकरण, चिलिमे जलविद्युत् कम्पनी र रसुवाका सम्बन्धित स्थानीय तहका कर्मचारीलाई सर्वसाधारण समूहका सेयरधनीलाई स्वपुँजी अन्तर्गत दिइने ४९ प्रतिशतमध्ये २४ प्रतिशत सेयर दिन लागेको जानकारी दिएका हुन् । 

उनका अनुसार पहिलो चरणमा कर्मचारी सञ्चय कोषका सञ्चयकर्तालाई १९.५ प्रतिशत, प्राधिकरण र चिलिमे तथा सम्बन्धित स्थानीय तहका कर्मचारीलाई ३.५ प्रतिशत र आयोजनालाई ऋण दिने कर्मचारी सञ्चय कोषका कर्मचारीलाई १ प्रतिशत सेयर निष्काशन गर्न लागिएको हो । जसअनुसार कम्पनी र कर्मचारी सञ्चय कोषबीच ऋण सम्झौता भएको मिति ०६८ मंसिर २२ गते बहाल रहेका र त्यसपछि नेपाल धितोपत्र बोर्डबाट विवरणपत्र स्वीकृत भएको गत पुस २० सम्म थप भएका सञ्चयकर्ता, संस्थापक संस्थाका कर्मचारी र ऋणदाता संस्थाका कर्मचारीले सेयरमा आवेदन दिनसक्ने आयोजनाले जनाएको छ ।

यसका लागि आगामी २८ गते आह्वान गरिनेछ । आयोजनाले दिएको जानकारी अनुसार कर्मचारी सञ्चय कोषका सञ्चयकर्ता कर्मचारीले १०० रुपैयां अंकित दरका एक करोड ३३ लाख ४२ हजार ९५ कित्ता सेयरको लागि आगामी फागुन ११ देखि ३० गतेसम्म आवेदन दिन सक्नेछन् भने संस्थापक संस्था प्राधिकरण, चिलिमे र स्थानीय तहका कर्मचारीले २३ लाख ९४ हजार ७ सय ३५ कित्ताको लागि तथा ऋणदाता सञ्चय कोषका कर्मचारीले १०० रुपैयाँ अंकित दरका ६ लाख ८४ हजार २ सय १० कित्ता सेयरका लागि आगामी चैत ५ देखि १३ गतेसम्म आवेदन दिन पाउनेछन् । 

त्यस्तै, सञ्चयकोषका सञ्चयकर्ता र संस्थाकप संस्थाका कर्मचारीले न्यूनतम ५० कित्ता र सोभन्दा बढी १० अंकले भाग जाने संख्यामा अधिकतम ५०० कित्तासम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ । त्यस्तै सञ्चय कोषका कर्मचारीले न्यूनतम ५० कित्ता र सोभन्दा बढी १० अंकले भाग जाने संख्यामा अधिकतम २५०० कित्तासम्म सेयरमा आवेदन दिन पाउनेछन् । 
सेयर आवेदन दिने कर्मचारीले धितोपत्रको सार्वजनिक निष्काशनको केन्द्रीकृत विद्युतीय सेवासम्बन्धी कार्य सञ्चालन निर्देशिका २०७४ बमोजिम आवेदन दिनुपर्नेछ । यसका लागि योग्य आवेदकको विवरण सीडीएससीको सिष्टममा अपलोड गर्ने व्यवस्था मिलाइएको कम्पनीले जनाएको छ । आवेदकको डिम्याट खाता अनिवार्य रहेको कम्पनीको भनाइ छ । कम्पनीको बिक्री प्रबन्धक  सिद्धार्थ क्यापिटल रहेको छ ।

त्यस्तै दोस्रो चरणमा भने कम्पनीले आयोजना प्रभावितलाई १० प्रतिशत सेयर निष्काशन गर्नेछ । यसअन्तर्गत ६८ लाख ४२ हजार १०० कित्ता सेयर छुट्याइएको छ भने अन्तिम चरणमा मात्रै सर्वसाधारणले सेयर आवेदन भर्न पाउनेछन् । सर्वसाधारणका लागि १५ प्रतिशत अर्थात् एक करोड दुई लाख ६३ हजार १५० कित्ता सेयर छुट्याइएको छ । 

रसुवागढी आयोजनाको मुख्य प्रवद्र्धकमा नेपाल विद्युत् प्राधिकरण र चिलिमे जलविद्युत् कम्पनी लिमिटेड रहेका छन् । कम्पनीले ५० प्रतिशत स्वपुँजी र ५० प्रतिशत ऋण रकमबाट आयोजना निर्माणको लागि आवश्यक वित्तीय व्यवस्था गरेको जनाएको छ ।

यो आयोजना रसुवाको गोसाइँकुण्ड गाउँपालिकाको १ र २ नं. वडामा निर्माण भइरहेको छ । प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक कुलमान घिसिंगले यसको कुल लागत १५ अर्ब ननाघ्ने बताएका छन् । यसको अहिले अनुमानित लागत विद्युत् खरिदबिक्री सम्झौताबमोजिम १३ अर्ब ६८ करोड ४२ लाख रुपैयाँ रहेको छ । 

आयोजनाले ०७६ पुस १५ देखि विद्युत् उत्पादन सुरु गर्ने लक्ष्य राखेको छ । आयोजनाले ६० प्रतिशत काम सकिएको जनाएको छ । यस आयोजनाबाट ६१ करोड ३० लाख युनिट विद्युत् उत्पादन हुनेछ । उत्पादित विद्युत् प्राधिकरणले हिउँद र वर्षायाममा प्रतियुनिट क्रमशः रु. ८.४० र रु. ४.८० मा खरिद गर्नेछ ।  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै