बारा । जिल्ला प्रहरी कार्यालय बाराले विभिन्न अपराधमा संलग्न चार जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । बारा प्रहरीले आइतबार पत्रकार सम्मेलनको आयोजना गरी उनीहरुलाई सार्वजनिक गरेको हो ।
प्रहरीले विभिन्न स्थानबाट हात हतियार प्रयोग गरी लुटपाट, चोरी गरिएको मोवाइल, मोटरसाईकल तथा अन्य विभिन्न घटनामा संलग्न रहेका समूहलाई पक्राउ गर्न सफल भएका हुँन् ।
प्रहरीले लुटपाटमा प्रयोग हुने एक थान कटुवा पेस्तोल र सोमा लाग्ने दुई थान गोली, तीन थान मोटरसाइकल र १६ थान मोबाइलसहित चार जनालाई पक्राउ गरी सार्वजनिक गरेका हुन् ।
सार्वजनिक गरिएकामध्ये जिल्लाको बारागढी गाउँपालिका वडा नं.१ का धर्मेन्द्र प्रसाद यादवलाई घरेलु कटुवा पेस्तोल एक थान र सोमा प्रयोग हुने दुई राउण्ड गोली तथा विभिन्न कम्पनीको १४ थान मोबाइलसहित पक्राउ गरेको हो ।
भारत तथा नेपालका विभिन्न स्थानबाट चोरी तथा लुटपाट गरी बिक्री वितरण गर्ने गरेका बाराको आदर्शकोतवाल गाउँपालिका ६ का आनन्द प्रसाद कुशवाहा र सोहि स्थानका अरविन्द माहत्तो कुशवाहालाई चोरीको तीन थान मोटरसाइकलसहित पक्राउ गरिएको छ ।
यस्तै रौतहट जिल्लाका बौधिमाई नगरपालिका वडा नं.५ का अरविन्द राय यादवलाई बारा प्रहरीले चोरी गरेको २ थान मोवाईल सहिँत सिम्रौनगढ नगरपालिकामा पक्राउ गरिएको बाराका प्रहरी उपरिक्षक राजकुमार बैधवारले बताए ।
पछिल्लो समय बारामा अपराध न्यूनिकरणका लागि बारा प्रहरीले सक्रियता बढाएको छ ।