काठमाडौँ । लिभरपुलका ब्राजिलियन प्लेमेकर फिलिप कोन्टिन्हो बार्सिलोना जाने तय भएको छ ।
कोन्टिन्हो बार्सिलोनासंगको सम्झौताका लागि बार्सिलोना पुगेका छन् । बार्सिलोनाका लागि उड्नु अघि उनलाई लन्डन एयरपोर्टमा देखिएको थियो । कोन्टिन्होलाई बार्सिलोनाले १४२ मिलियन पाउण्ड तिरेर लैजान लागेको मिडिया रिपोर्ट बाहिरिएको छ । साथै कोन्टिन्हो बार्सिलोनाको आइतबार हुने लेभान्टेविरुद्धको खेल हेर्नसक्ने बताइएको छ
यस अघि सम्झौतालाई अन्तिम रुप दिन कोन्टिन्होका एजेन्ट र वकिल बार्सिलोना पुगेका थिए । साथै लिभरपुलका प्रतिनिधि पनि सम्झौतालाई अन्तिम रुप दिन बार्सिलोनामै रहेको बताइएको छ ।
यस सम्झौतामा १४२ मिलियन बाहेक कोन्टिन्हो बार्सिलोनामा रहुन्जेल थप ३० मिलियन पाउण्ड बोनसको रुपमा लिभरपुलले पाउने शर्त रहेको बताइएको छ । सन् २०१३ मा केवल ८.५ मिलियन पाउण्डमा इटालीको इन्टर मिलानबाट लिभरपुल आएका कोन्टिन्हो ५ बर्षमा लिभरपुललाई १३४ मिलियन पाउण्ड फाइदा गराएर बाहिरिने भएका छन् ।
यो ट्रान्सफर पछि कोन्टिन्हो अहिलेसम्म दोस्रो महँगो खेलाडी बन्ने भएका छन् । बार्सिलोनाबाट यसै सिजन अघि पिएसजी गएका ब्राजिलकै नेइमारको नाममा १९८ मिलियन पाउण्डको रेकर्ड रहेको छ ।
साथै मिडिया रिपोर्टका अनुसार बार्सिलोनाले सम्भवत सोमबार कोन्टिन्होलाई क्लबमा प्रस्तुत गर्ने तयारी गरेको छ ।