• २०८१ बैशाख १७ सोमबार

लेखनाथ साहित्य पुरस्कार डा.जगमान गुरुङलाई प्रदान

kharibot

पोखरा । लेखनाथ साहित्य प्रतिष्ठानले सञ्चालन गरेको यस वर्षको लेखनाथ साहित्य पुरस्कार—२०७४ संस्कृतिकर्मी एवं साहित्यकार डा जगमान गुरुङलाई प्रदान गरिने भएको छ । 

कविशिरोमणि लेखनाथ पौड्यालकी कान्छी छोरी कुन्तीदेवी भट्टराईको परिवारजनद्वारा स्थापित पुरस्कारको राशि रु ५० हजार, ताम्रपत्र र दोसल्ला रहेको छ । नेपाली संस्कृति र साहित्यको क्षेत्रमा उल्लेखनीय योगदान पु¥याएबापत डा गुरुङलाई सो पुरस्कारबाट सम्मान गर्न लागिएको प्रतिष्ठानका अध्यक्ष पदमराज ढकालले जानकारी दिनुभयो । 

कास्कीको मादी गाउँपालिकाको याङजाकोटमा जन्मेका गुरुङका छवटा सांस्कृतिक तथा अनुसन्धनात्मक कृति प्रकाशित छन् । प्रतिष्ठानका सल्लाहकार तथा पुरस्कार अक्षयकोषका अध्यक्ष डा शुक्रराज अधिकारीको संयोजकत्वमा गठित प्रतिभा छनोट समितिले गुरुङको नाम सिफारिश गरेको हो । समितिमा प्रा डा रविलाल अधिकारी, डा प्रतिभा पाण्डे, रमा शर्मा र सदस्य–सचिवमा कृष्णप्रसाद पौडेल रहनुभएको थियो । 

प्रतिष्ठानका अध्यक्ष ढकालले कवि शिरोमणि लेखनाथ पौडेलको १३४ औँ जन्मजयन्तीको अवसरमा पुस १५ गते कविको जन्मस्थल पोखरा लेखनाथ महानगरपालिका–७ अर्घौं अर्चलेमा आयोजना हुने बृहत् साहित्यिक समारोहमा प्रदान गरिने छ । 

उक्त पुरस्कारबाट यसअघि नेपाली शिक्षा परिषद्, प्रा डा वासुदेव त्रिपाठी, मदनमणि दीक्षित, धर्मराज थापा, डा मोदनाथ प्रश्रित, मुकुन्दशरण उपाध्याय र प्रा बालकृष्ण पोखरेल सम्मानित भइसक्नुभएको छ । समारोहमा कवि शिरोमणिको जन्मजयन्तीको मूल समारोहमा विभिन्न शैक्षिक पुरस्कार र छात्रवृत्ति प्रदान गर्ने कार्यक्रम छ । 

कार्यक्रममा कवि शिरोमणिकी कान्छी छोरी कुन्तीदेवी भट्टराईको नाममा स्थापना गरेको रु १० हजारको कुन्तीदेवी शिक्षा पुरस्कार र प्रतिष्ठानका अध्यक्ष पदमराज ढकालले आफ्ना पिताको नाममा स्थापना गर्नुभएको रु पाँच हजारको चन्द्रकान्त ढकाल शिक्षा पुरस्कार शीतलादेवी सामुदायिक माध्यमिक विद्यालयकी शिक्षिका ज्योत्सना जोशीलाई प्रदान गरिनेछ । 

त्यसैगरी, रु पाँच हजारकै चन्द्रकान्त ढकाल पुरस्कार लिटिल स्टेप माविका टेकप्रसाद शर्मा काफ्लेलाई प्रदान गरिनेछ । यस्तै, जनही रु पाँच÷पाँच हजारका मधुमाया ढकाल छात्रवृत्ति जनज्योति माविकी छात्रा मञ्जु गुरुङ र फणीन्द्रकुमारी ढकाल छात्रवृत्ति लक्ष्मी आदर्श माविका छात्र सन्तोष ढकाललाई प्रदान गरिनेछ । कवि शिरोमणि आधारभूत विद्यालयका जेहन्दार विद्यार्थीलाई रु १० हजार बराबरको छात्रवृत्ति पनि प्रदान गरिने भएको छ ।

लेखनाथ साहित्य पुरस्कार, कुन्तीदेवी छात्रवृत्ति तथा शिक्षा पुरस्कारका लागि कवि शिरोमणि पौडेलको परिवारजनले रु १२ लाख एक हजार र पदमराज ढकालले रु एक लाख ७७७ गरी रु १३ लाख एक हजार ७७७ अक्षयकोषमा प्राप्त भएको अध्यक्ष डा अधिकारीले जानकारी दिनुभयो । 

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै