• २०८१ बैशाख १५ शनिबार

सबैभन्दा कम मनाङमा र सबैभन्दा बढी २ नं प्रदेशमा मत बदर

kharibot

काठमाडौँ । पहिलो हुने निर्वाचित हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा मुलुकभर औषतमा पाँच दशमलव १८ प्रतिशत मत बदर भएको छ ।

प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले हिमाली जिल्लाको तुलनामा मध्य तराई– मधेसका जिल्लामा बदर मत प्रतिशत निकै बढी रहेको पाइएको जानकारी दिए ।

उनका अनुसार, सबैभन्दा कम मनाङमा शुन्य दशमलव ३७ प्रतिशत मत बदर भएको छ भने सबैभन्दा बढी २ नं प्रदेशका जिल्लामा झण्डै नौ प्रतिशतसम्म मत बदर भएको छ ।

काठमाडौं उपत्यकाका जिल्लामा तीन दशमलव ८१ प्रतिशत भन्दा कम नै मत बदर भएको तथ्यांक रहेको उनले बताए । निर्वाचन आयोगले ५ प्रतिशतभन्दा कम नै मत बदर हुने अपेक्षा गरेको थियो ।

संविधानसभाको ६४ सालको निर्वाचनमा पाँच दशमलव १५ प्रतिशत मत बदर भएको थियो भने २०७० सालको दोस्रो संविधानसभाको निर्वाचनमा चार दशमलव ९४ प्रतिशत मत बदर भएको हो ।

आज यहाँ आयोजित साक्षात्कारमा प्रमुख निर्वाचन आयुक्त डा यादवले अबको तीन दिनभित्रै समानुपातिक तर्फको सबै मतपरिणाम सार्वजनिक हुने बताए ।

संविधानले नै सुनिश्चित गरेको महिला र जातजातिको प्रतिनिधित्वको विषयमा समानुपातिक निर्वाचन प्रणालीतर्फ बुझाइएको बन्दसूचीमा समावेश गरिएका नाम प्राथमिकताका आधारमा राजनीतिक दलले पठाउनुपर्ने पक्षलाई आयोगबाट गहन ढंगले हेरिने उनले बताए ।

विभिन्न डर त्रास र भयलाई पन्छाएर व्यापक जनसहभागितामा निर्वाचन हुनु भनेको मतदाताले निर्वाचनको स्वामित्व ग्रहण गर्नु हो भन्दै प्रमुख निर्वाचन आयुक्त डा यादवले राष्ट्रिय सभाको निर्वाचन सम्बन्धमा आयोगले नियमावली बनाउन शुरु गरिसकेको जानकारी दिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय