• २०८१ बैशाख २३ आइतबार

उपनिर्वाचनको सुरक्षा व्यवस्थापन पूरा, २ हजार ३८७ प्रहरी परिचालन

kharibot

काठमाडौँ । आसन्न इलाम क्षेत्र नं २ र बझाङ प्रदेशसभा (क) मा हुने  उपनिर्वाचनको सुरक्षा व्यवस्थापन कार्य पूरा भएको छ । प्रहरी प्रधान कार्यालयद्वारा  आज यहाँ  आयोजित पत्रकार सम्मेलनमा उपनिर्वाचनको  आवश्यक सुरक्षा व्यवस्थापन कार्य  तयारी पूरा भएको जानकारी दिइएको हो ।

केन्द्रीय प्रहरी प्रवक्ता  प्रहरी नायब महानिरीक्षक भीमप्रसाद ढकालले पत्रकार सम्मेलनमा  यही वैशाख १५ गते हुने उपनिर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहित बनाउनका लागि ‘उपनिर्वाचन सुरक्षा योजना–२०८१’ तयार गरी कार्यान्वयनमा ल्याइएको जानकारी दिए । 

"निर्वाचनको क्रममा देखिनसक्ने सुरक्षा चुनौतीलाई सुक्ष्म अध्ययन गरी आम मतदातालाई ढुक्क भएर आफ्नो अधिकार प्रदान गर्ने वातावरण निर्माणमा  प्रहरी जुटेको छ”, उनले भने । प्रहरीले मतदाता र मतदानस्थलदेखि मतगणनास्थलसम्म भरपर्दो सुरक्षा योजना मिलाएको उनको भनाइ छ ।

प्रवक्ता ढकालले उपनिर्वाचनलाई सुरक्षा प्रदान गर्नका लागि आवश्यक बन्दोवस्तीका सामग्रीका साथ प्रहरी मतदान केन्द्र र मतदानस्थलमा खटिइसकेको जानकारी दिए । निर्वाचनलाई सुरक्षित र भयरहित वातावरणमा सम्पन्न गर्न लागि प्रहरीले अन्य सुरक्षा निकायसँग सहकार्य गरिरहेको उनको भनाइ छ ।

प्रहरीले उपनिर्वाचनका लागि इलाम क्षेत्र नं २ र बझाङ प्रदेशसभा (क) मा दुई हजार तीन सय ८७ प्रहरी जनशक्ति परिचालन गरेको छ । निर्वाचनलाई सफल बनाउनका लागि प्रहरीले इलामका ७९ मतदानस्थलका एक सय ४९ मतदान केन्द्रमा एक हजार  तीन सय ६३ प्रहरी परिचालन गरेको छ । प्रहरीले इलाममा ३७ केन्द्रलाई अतिसंवेदनशील, ४१ केन्द्रलाई संवेदनशील र ७१ केन्द्रलाई सामान्य प्रकृतिको रुपमा लिएको छ । प्रहरीले अतिसंवेदनशीलमा १२ देखि १७, संवेदनशीलमा नौदेखि १४ र सामान्यमा आठदेखि १३ प्रहरी खटिएको जनाएको छ ।

बझाङ प्रदेशसभा (क) को ७४ मतदानस्थलको ९३ मतदान केन्द्रमा एक हजार २४ प्रहरी जनशक्ति परिचालन गरेको छ । सो क्षेत्रमा ३२ केन्द्रलाई अतिसंवेदनशील, ३० केन्द्रलाई संवेदनशील र ३१ केन्द्रलाई सामान्य प्रकृतिको रुपमा रहेको जनाइएको छ ।  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै