• २०८१ बैशाख १७ सोमबार

कञ्चनपुर र डडेल्धुरामा मतदान शुरु, प्रधानमन्त्री देउवाले केहीबेरमा मतदान गर्दै

kharibot

भीमदत्तनगर ।  दोस्रो चरणको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि कञ्चनपुर र डडेल्धुरामा आज बिहान ७ बजेदेखि मतदान शुरु भएको छ । 

कञ्चनपुरका मुख्य निर्वाचन अधिकृत डा राजेन्द्रकुमार आर्चायले यहाँका तीनवटा प्रतिनिधिसभा र छ वटा प्रदेशसभा सदस्यका लागि एकसाथ मतदान शुरु भएको जानकारी दिए । कञ्चनपुरमा रहेका ३२० वटै मतदान केन्द्रमा मतदान शुरु भइसकेको मुख्य निर्वाचन अधिकृत आर्चायले बताए । 

“सबैतिर मतदान शुरु भइसक्यो,” उनले भने “वर्षात्ले केही समस्या परिहाले पनि सुरक्षित हिसाबले मतदान जारी रहन्छ ।” उनले बिहान ७ बजेदेखि शुरु भएको मतदान बेलुकी ५ बजेसम्म चल्ने बताए । सो अवधिमा अत्यावश्यक सवारीसाधनबाहेक अरु सवारीसाधनलाई भने पूर्णरुपमा रोक लगाइएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर सेटीले जिल्लाभर शान्तिपूर्ण वातारणमा मतदान भइरहेको बताए । 

“अहिलेसम्म सबै निर्वाचन क्षेत्रमा मतदान गर्न मतदाता उत्साहका साथ मतदानस्थल आइरहनुभएको छ ।” उनले भने “मतदानस्थलदेखि सबैतिर सुरक्षा सर्तकता बढाएका छौँ ।” त्यसका साथै नेपाल भारत सीमासमेत बन्दज गरेर कतिपय स्थानमा नेपाली र भारतीय सुरक्षाकर्मीबाट सीमा क्षेत्रमा संयुक्त गस्तीसमेत भइरहेको छ । 

निर्वाचनका लागि दुई हजार ५६० जना कर्मचारी खटिएका छन् भने निर्वाचन सुरक्षाका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी गरी करिब चार हजारको संख्यामा खटिएका छन् । कञ्चनपुरमा दुई लाख ६४ हजार ९७३ मतदाता रहेको छ । 

डडेल्धुरा : प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि प्रधानमन्त्री शेरबहादुर देउवाको गृह जिल्लामा बिहान ७ बजेबाट मतदान शुरु भएको छ । 

डडेल्धुरामा ७७ मतदानस्थल र ११७ मतदान केन्द्रमा बिहान सात बजेदेखि उत्साहपूर्ण ढगंले मतदान गर्न मतदाता लाइनमा बसिरहेका छन् । आज बिहान ५ बजे परेको हल्का वर्षाले मतदानलाई प्रभाव पार्ने देखिएको भएता पनि अहिले भने आकाश खुलेको छ । 

प्रधानमन्त्री देउवाले ९ बजेपछि मात्र मतदान गर्ने उनका स्वकीय सचिव भानु देउवाले जानकारी दिए । देउवाले अशिग्राम मावि रुवाखोला मतदान केन्द्रमा मतदान गदै छन् । एक प्रतिनिधिसभा र दुई प्रदेशसभा सदस्यका लागि जिल्लामा ८१ हजार ६३२ मतदाताले मतदान गर्दैछन् । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै