• २०८१ बैशाख १६ आइतबार

प्रमुख निर्वाचन आयुक्त डा यादवबाट सोलुखुम्बु र दोलखाको अनुगमन

kharibot

काठमाडौँ । प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले पहिलो चरणमा यही मंसिर १० गते निर्वाचन हुने सोलुखुम्बु र दोलखा जिल्लामा भइरहेका निर्वाचन तयारीको आज अनुगमन गरेका छन् । 

निर्वाचन तयारीका बारेमा जानकारी लिन विभिन्न जिल्लाको अनुगमन गर्ने क्रममा प्रमुख निर्वाचन आयुक्त डा यादव आज सोलुखुम्बु र दोलखा जिल्ला जनाएका छन् । 

सो क्रममा आयुक्त डा यादवले निर्वाचन तयारी, जनशक्ति व्यवस्थापन एवं खटनपटन र सुरक्षा बन्दोबस्तीका बारेमा दुवै जिल्लाका अनुगमन टोलीका प्रमुख, मुख्य निर्वाचन अधिकृत, प्रमुख जिल्ला अधिकारी, जिल्ला निर्वाचन अधिकारी र जिल्लास्थित सुरक्षा निकायका प्रमुखबाट जानकारी लिएका छन् । 

त्यसअवसरमा जिल्लास्थित सुरक्षा निकायका प्रमुखले जिल्लामा सुरक्षा व्यवस्था अत्यन्त राम्रो हुनाका साथै र जिल्लामा सम्पूर्ण तयारी पूरा भएको प्रमुख निर्वाचन आयुक्त डा यादवलाई जानकारी गराएका थिए । 

सो अवसरमा प्रमुख निर्वाचन आयुक्त डा यादवले जिल्लाको भौगोलिक विकटताको व्यवस्थापन गर्दै मतदान केन्द्रको सुरक्षा, मतपेटिका ढुवानीको व्यवस्थापन र सुरक्षा, निर्वाचन आचारसंहिता पालना गर्न गराउने लगायतका कार्यमा कुनै त्रुटि नहुने गरी काम गर्न निर्देशन दिए ।

प्रमुख निर्वाचन आयुक्त डा यादवले सोलुखुम्बुको सल्लेरी बजार अनुगमन गर्ने क्रममा त्यहाँ निर्वाचन आचारसंहिताविपरीत टाँगिएका तुल ब्यानर तत्काल हटाउन सुरक्षाकर्मीलाई निर्देशन दिएलगत्तै त्यस्ता तुल ब्यानर हटाइएका आयोगका प्रवक्ता नवराज ढकालले बताए । 

प्रमुख निर्वाचन आयुक्त डा यादवले दोलखामा स्थानीय तह निर्वाचनका क्रममा भएको दुःखद् घटनाको स्मरण गर्दै त्यस किसिमका घटना कुनै हालतमा पनि नदोहोरिने गरी विशेष सतर्कता अपनाउन सुरक्षा निकायलाई निर्देशन दिएका थिए । 

प्राचार्य डा खरेललाई स्पष्टीकरण पेश गर्न निर्देशन 

निर्वाचन आयोगले रत्नराज्य उच्च माध्यमिक विद्यालय, बानेश्वर, काठमाडौँका प्राचार्य डा गीता शिवाकोटी खरेललाई दुई दिनभित्र स्पष्टीकरण पेश गर्न निर्देशन दिएको छ । 

निर्वाचन आचारसंहिताविपरीत राजनीतिक दलको निर्वाचन प्रचारप्रसारमा सहभागी भएको जनाउँदै निर्वाचन आयोगले उनलाई स्पष्टीकरण पेश गर्न निर्देशन दिएको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए । 

स्पष्टीकरणपत्रमा भनिएको छ, ‘प्रस्तुत विषयमा तपाईले सामाजिक सञ्जाल यूट्युवमार्पmत काठमाडौँ क्षेत्र नं १ को प्रतिनिधिसभा सदस्यमा नेपाली काँग्रेसका उम्मेदवार प्रकाशमान सिंहको पक्षमा मत मागिरहेको श्रव्य दृश्यसहितको सूचना आयोगमा प्राप्त हुन आएको छ । 

सार्वजनिक पदमा रहेको व्यक्तिले यसरी कुनै दल वा उम्मेदवारका पक्षमा मत माग्ने कार्य निर्वाचन आचारसंहिताविपरीत देखिएको हुँदा तपाईलाई निर्वाचन आचारसंहिता उल्लंघन गरेबापत कारबाही किन हुनु नपर्ने हो ? पत्र प्राप्त भएको मितिले दुई दिनभित्र स्पष्टीकरण पेश गर्नु हुन निर्देशनअनुसार अनुरोध छ’– स्पष्टीकरणमा भनिएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै