• २०८१ बैशाख १५ शनिबार

भोट हाल्न जादाँ छिमेकी गाउँमा बास बस्नुपर्ने बाध्यता

kharibot

बाबियाचौर । म्याग्दीको एक गाउँका बासिन्दा मतदान गर्न छिमेकी गाउँमा बास बस्न जानुपर्ने समस्या रहेको छ । 

प्रदेश ख अन्तर्गत पर्ने धौलागिरि गाउँपालिका–४ को सिम्कोश, बगर र नाउराका बासिन्दा मतदानको अघिल्लो दिनमै छिमेकी गाउँमा बास बस्न जाने गरेका छन् । म्याग्दीको दुर्गम क्षेत्रमा पर्ने बगरमा ३४, सिम्कोश र नाउरामा १०÷१० घरपरिवार बसोबास गर्छन् । 

त्यहाँका बासिन्दाको मतदान केन्द्र चन्द्रज्योति मावि खिवाङमा तोकिएको छ । मतदानकै दिन हिँडेर पुग्न नसकिने भएकाले अघिल्लो दिनै खिवाङ गएर बास बस्ने गरेको बगरका बासिन्दा चित्रबहादुर तिलिजाले बताए । 

बगर गाउँबाट हिँडेर खिवाङ पुग्न आठ घण्टा लाग्ने गरेको छ । तीन वटा गाउँमा करिब २०० जना मतदाता छन् । केन्द्र टाढा भएकाले ज्येष्ठ नागरिक र अशक्त मतदान गर्नबाट बञ्चित हुने गरेका तिलिजाले बताए । 

विकट भएकाले उम्मेदवारसमेत गाउँमा भोट माग्न पुग्दैनन् । उम्मेदवारलाई नदेखिकन मतदान गर्नुपरेको स्थानीयवासी नरप्रसाद पुनले बताउनुभयो । स्थानीय तह बाहेकका कुनै पनि संसदीय चुनावमा उम्मेदवार गाउँमा नआएको उनले गुनासो गरे । 

उम्मेदवारको एजेण्डा सुन्न, आफ्ना समस्या व्यक्त गर्ने अवसर नपाएकामा त्यहाँका बासिन्दा दुःखी छन् । एफएम रेडियो सुनेर, टिभीको समाचार हेरेर र गाउँका अगुवाले गर्ने निर्देशनको भरमा मतदान गर्न उनीहरु बाध्य छन् । 

पर्यटन, जडीबुटी र पशुपालनका हिसाबले प्रशस्त सम्भावना भएर पनि भौगोलिक विकटता र पूर्वाधारको विकास नहुँदा बगर गाउँपछि परेको छ । यो गाउँ धौलागिरि हिमाल आरोहणका लागि जाने धौलागिरि चक्रीय पदमार्गको अन्तिम बस्ती हो । 

बस्तीसम्म पुग्ने व्यवस्थित पदमार्ग, सञ्चार, खानेपानी, झोलुङ्गे पुल र विद्युत्को समस्या रहेको छ । स्वास्थ्य संस्था टाढा भएकाले आधारभूत उपचार सेवाबाट यहाँका बासिन्दा बञ्चित छन् । स्थानीयवासीले आर्थिक संकलन गरेर कक्षा ५ सम्मको पठनपाठन हुने विद्यालय सञ्चालन गरेका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय