• २०८१ बैशाख २० बिहीबार

म्यान्चेस्टर युनाइटेडको शानदार जित, लिगमा दोस्रो स्थानमा 

kharibot

काठमाडौँ । इङलिश प्रिमियर लिग फुटबल अन्तर्गत शनिबार राति भएको खेलमा म्यानचेस्टर युनाइटेडले शानदार जित हासिल गरेको छ । 

घरेलु मैदानमा भएको खेलमा म्यानचेस्टर युनाइटेडले न्युक्यासल युनाइटेडमाथि ४–१ को जित हासिल गरेको हो । 

म्यानचेस्टर युनाइटेडको जितमा एन्थोनी मार्शल, क्रिस स्मलिङ, पउल पोग्बा र रामेलु लुकाकुले गोल गरेका थिए भने न्युक्यासल युनाइटेडका लागि ड्वाइट गेलले एक गोल गरेका थिए । 
खेलको १४औं मिनेटमा गेलले न्युक्यासलका लागि गोल गरेपछि म्यानचेस्टर युनाइटेड १–० ले पछि परेको थियो । तर त्यसपछि युनाइटेडले पहिलो हाफमा दुई तथा दोस्रो हाफमा दुई गोल गर्यो । खेलको ३७औं मिनेटमा मार्शलले म्यानचेस्टर युनाइटेडका लागि बराबरी गोल फर्काए भने पहिलो हाफको इन्जुरी समयमा स्मलिङले गोल गर्दै टिमलाई २–१ को अग्रता दिलाएका थिए । 

पहिलो हाफमा २–१ ले अघि रहेको म्यानचेस्टरका लागि खेलको ५४औं मिनेटमा पोग्बाले गोल गरे भने खेलको ७०औं मिनेटमा लुकाकुले गोल गरेपछि युनाइटेडले ४–१ को जित हासिल गरेको थियो । 

जलाटन इब्राहिमोविचसहित मैदानमा उत्रिएको युनाइटेड जितपछि लिगको दोस्रो स्थानमा रहेको छ । म्यानचेस्टर युनाइटेडको १२ खेलबाट २६ अंक भएको छ भने शीर्ष स्थानको म्यानचेस्टर सिटी भन्दा ८ अंकले पछाडी रहेको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै