• २०८१ बैशाख १७ सोमबार

युट्युबका कारण म्यूजिक भिडियोको बजार विश्वव्यापी भयो - समन अधिकारी, म्यूजिक भिडियो निर्देशक

kharibot

काठमाडौँ । समन अधिकारी मुलतः संचारकर्मी हुन । संचार कर्ममा पनि उनको रोजाईको क्षेत्र टेलिभिजन हो । उनले नेपालको पहिलो धार्मिक तथा अध्यात्मिक च्यानल भक्तिदर्शन टेलिभिजनमा प्रमुख भएर लामो समय नेतृत्व दिए । त्यस अघि उनले नेपालका नाम चलेका सबै टेलिभिजनहरुमा कार्यक्रम निर्माता तथा अन्य विशिष्ठ भुमिकामा रहेर काम गरे । उनी हाल आफ्नै कारणले प्रशारणमा नरहेको नेशनल टेलिभिजनमा त संस्थापक तथा निर्देशक भएर पनि टिभी कामको अनुभव लिए । टेलिभिजनको समाचार तथा मनोरजंनको विधामा उनी रचनात्मक कर्मका लागि आफैमा चर्चित छन । 

टेलिभिजनका अलवा उनी पछिल्लो दशकमा निरन्तर जोडिए म्यूजिक भिडियो निर्माण र निर्देशनमा । ५ सय बढी म्यूजिक भिडियोको निर्माण तथा निर्देशन गरिसकेका समन अब यसलाई मुलधारको कर्म बनाएर अघि बढिरहेका छन । 

नेपालका म्यूजिक भिडियो निर्माता, निर्देशकको सूचिमा शीर्ष स्थानमा सधै रहने गरेका समन अचेल त एक नम्वरमा रहेर व्यस्त हुन थालेका छन । आखिर टेलिभिजन भन्दा पनि बढी आकर्षण के देख्छन उनी म्यूजिक भिडियो निर्माण, निर्देशनमा ? के छन यसका संभावना र चुनौति ? यसै सेरोफेरोमा खरीबोट डटकमले म्यूजिक भिडियो निर्देशक, निर्माता समनसँग छोटो कुराकानी गरेको छ । प्रश्तुत छ कुराकानीको सम्पादित अंशः 

 तपार्इँ त मिडिया र म्यूजिक भिडियोलाई उत्तिकै रुपमा अघि बढाईरहनु भएको मान्छे अचेल के मा बढी व्यस्त हुनुहुन्छ ?

म अहिले म्यूजिक भिडियोमा बढी व्यस्त छु भने आगामी दिनमा थप केहि प्रोजेक्टको तयारीमा लागेको छु ।

टेलिभिजन कर्मभन्दा बढी म्यूजिक भिडियो निर्देशन, निर्माणमा तपाईँ केन्द्रित हुनुको कारणहरु बताईदिनुहोस न ।

कुरा स्पष्ट छ म टेलिभिजन भन्दा बढी म्यूजिक भिडियोमा रमाउँछु । किनकी आर्थिक रुपमा पनि म्यूजिक भिडियो अव्वल छ भने क्रियशनको हिसावले पनि म्यूजिक भिडियो अगाडि छ । तसर्थ आफ्नो पपुलारिटीको लागि पनि म्यूजिक भिडियो अगाडि भएकोेले म म्यूजिक भिडियो निर्माण तथा निर्देशनमा बढी केन्द्रित छु ।

हालसम्म कति म्यूजिक भिडियो बनाउनु भो ?

मैले विभिन्न विधाका गीतहरु अनुसार लगभग ५ सय वटा म्यूजिक भिडियोको निर्माण निर्देशन गरिसकेको छु ।

कस्ता खालका म्यूजिक भिडियोमा तपाई बढी जोड दिनुहुुन्छ ?

म बढी सदावहार हुने सुगम संगीतको गीतको भिडियो बनाउन जोड दिन्छु । हुनत मैले सबै विधाका गीतहरुको भिडियो निर्देशन गरिसकेको छु । जसमा लोक, पप, आधुनिक, राष्ट्रिय गीत, आध्यात्मिक, बाल, हिपहप, लगायत थुप्रै विधाका गीतहरु छन ।

बजारमा निर्देशकका रुपमा तपाईँको माग बढेको भनिन्छ नी, हो ?

मेरो कामको व्यस्तता र माग हेर्दा होकी जस्तो लाग्छ । काम गरेर भ्याउन मलाई हम्मेहम्मे नै छ आजकाल ।

म्यूजिक भिडियो निर्माता तथा निर्देशकका रुपमा तपाईँ महंगो हुनुहुन्छ भन्ने आरोप छ नी ?

हेर्नुस् म यो क्षेत्रमा लागेको लगभग एक दशक भइसक्यो । मेरो रोजी रोटीको मुख्य आधार पनि यहि क्षेत्र हो । तसर्थ मैले मेरो जिम्मेवारीलाई गम्भीरताका साथ पूरा गर्छु । त्यसका लागि मलाई आवश्यक पर्ने बजेट माग गर्छु जसका कारण महंगो हुनसक्छ । तर मेरो लागि त्यो सामान्य हो । सस्तो र जे पायो त्यही का मगर्ने मेरो बानी छैन ।

म्यूजिक भिडियो निर्माता निर्देशकका रुपमा तपार्इँ आफ्नो कामबाट कत्तिको सन्तुष्ट हुनुहुन्छ ?

म सन्तुष्ट नभएको भए यतिका वर्ष यसै क्षेत्रमा कसरी विताउँथे होला ? अरु नै वैकल्पिक बाटो अपनाउथें । तसर्थ यसबाट के प्रष्ट हुन्छ भने म यस क्षेत्रमा सन्तुष्ट छु ।

समग्रमा म्यूजिक भिडियोको वर्तमान बजार कस्तो छ ? कुन स्तरमा छ यसको व्यावसायिक पक्ष ?

म्यूजिक भिडियोको वर्तमान अवस्था अत्यन्तै राम्रो छ । युट्यूवका कारण अहिले नेपाली म्यूजिक भिडियोको बजार विश्वव्यापी भएको छ । अहिले भिडियो प्रसारण माध्यमहरु प्रसस्त भएकोले वर्तमान अवस्था अत्यन्तै सुखदायी र फलदायी रहेको छ ।

यसको व्यवसायिक स्तर बढाउन तपाईको सुझाव र सूत्र केही छन की ?

प्रविधिको विकासका कारण विश्व अहिले एउटै गाउँ भएको छ । विश्वका सबै देशका गीतहरुको भिडियो सजिलै हेर्न सकिन्छ । तसर्थ विश्व बजारलाई सुहाउँदो आधुनिक प्रविधिको राम्रो प्रयोग गरि गुणस्तरीय काम गर्न सकेमा व्यवसायिक स्तर बढाउन सकिन्छ । राम्रा कथावस्तु समेटेर, राम्रा कलाकार राखेर , राम्रा लोकेशन र भेषभुषाको प्रयोग गरि मेहनतका साथ भिडियो निर्माण गर्न सके म्यूजिक भिडियोको व्यवसायिक स्तर बढाउन सजिलै सकिने छ ।

भोलिका दिनमा यो क्षेत्रको भविष्य कस्तो देख्नुहुुन्छ ?

आजको दिन राम्रो हुनु भोलिको दिन पक्कै नै राम्रो हुन्छ । तसर्थ यस क्षेत्रमा मेहनत गर्नेका लागि आजको दिन राम्रो छ भने भविष्य पक्कै नै सुनिश्चित छ ।

यस क्षेत्रका समस्या के के छन् नी ?

यस क्षेत्रमा समस्या भनेको जानी नजानी काम गर्ने, युट्यूवको दर्शक बढाउन भनि घिनलाग्दो नग्नता पस्कने, सेन्सरसिपको अभाव, टेलिभिजनमा भिडियो बजाउन नातावाद र कृपावाद, अझ भन्नुपर्दा सिण्डिकेट हुनु । इत्यादि कमजोर पक्षहरु छन, जो सुधार गर्नु आवश्यक छ ।

नढाँटी भन्नुस् त तपाईँले यो क्षेत्रबाट कति कमाउनु भयो ?

मैले यो क्षेत्रमा लागेर अहिलेसम्मको जीवनयापन गरेको छु । परिवार राम्रोसँग पालेको छु । आवश्यकता अनुसार पुर्याएको छु । कसैसँग माग्नु परेको छैन् । भन्नु पर्दा गास वास कपास मज्जाले चलेको छ । यहि हो मेरो कमाई ।

म्यूजिक भिडियो निर्माण क्षेत्रले समाज रुपान्तरणमा नकारात्मक प्रभाव पनि पार्यो, गीत संगीत सस्तो भए भन्ने अरोपहरु प्नि सुनिन्छन् । वास्तविकता के हो ?

कुरालाई नकार्न सकिन्न, क्रिया बराबर प्रतिक्रिया अवश्य हुन्छ । सबै क्षेत्र राम्रो मात्र हुन्छ भन्ने छैन । सस्तो लोकप्रियता कमाउने र युट्यूवमार्फत कमाई गर्ने हिसावले जे पायो त्यहि नबुझि गरिरहेको छन् । यस्ता कारणले विभिन्न आरोपहरु यस पवित्र क्षेत्रमा भोग्नु परेको छ ।

देशभक्ति र एकताका म्यूजिक भिडियोतिर तपाईँको ध्यान कम गएको वा नचल्ने भएर नबनाएको नी ?

हेर्नुस् हाम्रो देशमा यस्ता गीतका भिडियोहरु अरु भिडियोको तुलनामा कम बन्ने गर्दछन् । तर मैले अरुको भन्दा धेरै देशभक्ति गीतहरु गरेको छु ।

धार्मिक क्षेत्रमा पनि म्यूजिक भिडियोको आकर्षण बढेको हो ?

हो । राम्रो हेर्न लायक भिडियो बनायो भने सबै किसिमका भिडियोहरु चल्दा रहेछन् । राम्रा धार्मिक म्यूजिक भिडियोको डिमाण्ड बढी नै छन् ।

पाईपलाईनमा कामको चाप निकै होला नी ? थप के के गर्दै हुनुहुन्छ ?

म आफूलाई यस मानेमा भाग्यमानी ठान्दछु काम गर्न शुरु गरेको दिनदेखि अहिले सम्म सधै व्यस्त रहने अवसर पाएको छु । काम विहिन भएर चिन्तित बन्नु परेको छैन् । टिभीको काम, चलचित्रको काम, पुस्तकको काम, देशविदेश भ्रमण लगायतका काम व्यस्त हुँदैछु ।

बजारमा तपाई आफ्नो प्रतिष्पर्धी कसलाई ठान्नु हुन्छ ?

आफूले आफैलाई प्रतिस्पर्धी ठान्दछु ।

तपार्इँ र अरु निर्देशक निर्माता बीचको प्रतिस्पर्धा कत्तिको स्वस्थ छ ?

मलाई त्यस्तो प्रतिस्पर्धाको फिल छैन । म आफ्नो काम र मेहनतमा बढी ध्यान दिने भएकोले प्रतिस्पर्धाको बारेमा वास्ता गर्दिन । 

तपाईँका भावी योजनाहरु केही छन् की ?

म निकट भविष्यमा नेपालमा म्यूजिक भिडियो ३० वर्षे ईतिहास सम्बन्धि पुस्तक तयार पार्दैछु ।

थप केही भन्नु भने भन्नुस् ।

मलाई केहि भन्ने मौका दिएकोमा खरीबोट डटकम परिवारलाई आभार सहित विशेष धन्यवाद ।


 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै