• २०८१ बैशाख १५ शनिबार

तिहारमा १४ करोड रुपैयाँ बराबरको सयपत्री फूलको कारोबार

kharibot

काठमाडौं । यस वर्ष तिहारमा १४ करोड रुपैयाँ बराबरको सयपत्री फूलको कारोबार भएको छ । 

फ्लोरिकल्चर एशोसिएसन अफ नेपालका अनुसार माग धेरै हुँदा आपूर्तिको सन्तुलन मिलाउन नसक्दा सयपत्री फूल महंगो भएको थियो । 

एशोसिएसनका अध्यक्ष कुमार कसजू श्रेष्ठका अनुसार यो वर्ष १२ देखि १३ लाख सयपत्री फूलको माला माग थियो । तर ११ लाख माला मात्रै आपूर्ति गरिएको थियो । यो वर्ष भारतबाट सयपत्रि फूलका ३ लाख माला आयात गरिएको थियो । त्यसका लागि सवा करोड रुपैयाँ भारत गएको छ । 

तिहार छिटो परेकाले पनि रैथाने फूल नफुल्दा यसपालि सयपत्री महंगिएको कसजूले जानकारी दिए । यस्तै मौसमी व्यापारीका कारण पनि फूल महंगो भएको उनको भनाइ छ ।

तिहारमा फूलको अभाव देखेपछि मौसमी व्यापारीले आफूखुशी भाउ राखेर बेचेका थिए । व्यापारीले यो वर्षको तिहारमा सयपत्री फूलको एउटा माला ३ सय रुपैयाँसम्म बेचेका पाइएको छ । 

सयपत्री फूल महंगो भए पनि माग भन्दा उत्पादन धेरै हुँदा मखमली फूल भने पोहोरकै मूल्यमा यसपालि बिक्री भएको छ । यो तिहारमा एक करोड ५ लाख रुपैयाँको मखमली फूलको कारोबार भएको फ्लोरिकल्चर एशोसिएसनले जनाएको छ ।  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय