काठमाडौं । यस बर्षको म्यान बुकर पुरस्कार अमेरिकी लेखक जर्ज सान्डर्सले ‘लिंकन इन द बार्डो’ पुस्तकका लागि जितेका छन् । ५० हजार अमेरिकी डलर राशिको यो पुरस्कार जित्ने जर्ज दोस्रो अमेरिकी नागरिक भएका छन् ।
छोटा कथा लेखेर चर्चामा आएका जर्ज सान्डर्सले आफ्नो पहिलो उपन्यास ‘लिंकन इन द बार्डो’ का लागि प्रतिष्ठित पुरस्कार जितेका हुन् ।
सत्य घटनामा आधारित यो उपन्यासमा चिहानमा बिताएको एक रातको कथा समेटिएको छ । यसमा आफ्नो छोराको निधनपछि अब्राहम लिंकनको दुःख तथा छोराको चिहानमा लिंकनको यात्रालाई बयान गरिएको छ ।
यस पुरस्कारका लागि जर्ज सान्डर्ससँगै बेलायती लेखक अली स्मिथ र फियोना मोजन्ले, अमेरिकी लेखक पल पउल अस्टर र एमिली फ्रिडलुण्ड तथा पाकिस्तानी मुलका बेलायती लेखब मोहसीन हामिद अन्तिम सूचिमा रहेका थिए ।
टेक्सासमा जन्मिएका जर्ज सान्डर्सले यसअघि कथाका लागि फोलियो पुरस्कार तथा स्टोरी पुरस्कार पाइसकेका छन् । ‘लिंकन इन द बार्डो’ उनको पहिलो उपन्यास तथा नवौं पुस्तक हो ।
सन् १८६२ को फेब्रुअरी २० मा ११ वर्षको उमेरमा लिंकनका छोरा विलीको निधन भएको थियो । विलीको चिहान वाशिङ्टन डिसीमा बनाइएको थियो । यहि विषयलाई आधार बनाएर सान्डर्सले यो उपन्यास लेखेका हुन् ।
पुरस्कार पाउनु अघि टाइम म्यागजिनसँग सान्डर्सले आफू लिंकनका बारेमा लेख्न नचाहेको भएपनि लिंकन छोराको चिहानमा जाने गरेको कथाले आफूलाई प्रभावित गरेको र त्यसैले यो पुस्तक तयार भएको बताएका थिए ।