• २०८१ बैशाख १४ शुक्रबार

देशभरका स्वास्थ्य संस्थामा आकस्मिक बाहेकका सेवा बन्द, हजारौ विरामी प्रभावित 

kharibot

काठमाडौं । आज देखि नेपाल चिकित्सक संघको आव्हानमा देशभरका स्वास्थ्य संस्थामा आकस्मिक बाहेकका सेवा बन्द भएका छन् ।

सरकारले बिरामीको मृत्यु भएमा त्यसको क्षतिपूर्ति उपचारमा संलग्न चिकित्सक स्वयंले बेहोर्नुपर्ने निर्णयको विरुद्धमा चिकित्सकहरुले स्वास्थ्य संस्था ठप्प पारेका हुन् ।

यस अघि बुधबार नेपाल चिकित्सक संघले निर्णय फिर्ता लिन सरकारलाई ७२ घन्टे अल्टिमेटम दिएको थियो । तर सरकारले सो निर्णयका विषयमा कुनै पहल नगरेपछि चिकित्सकहरु अनिश्चितकालीन आन्दोलनमा उत्रिएका हुन् ।

चिकित्सक संघले बुधबार सरकारसँग तीन बुँदे माग राखेको थियो जसमा चिकित्सक स्वयंले मृतकका परिवारलाई क्षतिपूर्ति दिनुपर्ने भनेर गत असोज २ गते मन्त्रिपरिषद बैठकबाट भएको निर्णय फिर्ता लिनुपर्ने उसको मुख्य माग रहेको छ ।

यसैगरी, स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन २०६६ र नियमावली २०६९ परिमार्जन गरी स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थामाथि हातपात गर्नेलाई बिना धरौटी जेल चलान गर्नुपर्ने र विगतमा भएका सहमति कार्यान्वयन गर्नुपर्ने माग पनि नेपाल चिकित्सक संघले राखेको छ ।

चिकित्संकहरुको आन्दोलनबाट अस्पताल, नर्सिङहोम, क्लिनिक सबै बन्द हुँदा देश भरका हजारौ विरामी प्रभावित भएका छन् । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै