• २०८१ बैशाख १५ शनिबार

प्रहरीको हत्याका आरोपी महिला पक्राउ

kharibot

धादिङ, उत्तरी धादिङको खनियाबास गाउँपालिका–४ स्थित दार्खा प्रहरी चौकीमा कार्यरत प्रहरी सहायक निरीक्षक वीरबहादुर गुरुङको हत्यामा संलग्न भएको आरोपमा आइतबार एक महिलालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी चौकी नजिकै घर भएकी तारा थापा मगरलाई प्रहरीले हत्या आरोपमा पक्राउ गरेको प्रहरी उपरीक्षक शरद खत्रीले बताउनुभयो । हत्या आरोप लागेका थापामगरका श्रीमान् सुशील गुरुङ भने फरार छन् । बलियो घर कार्यक्रमअन्तर्गत सामाजिक परिचालक पदमा कार्यरत गुरुङले श्रीमती थापामगरको सहयोगमा घरमा बोलाएर प्रहरीको हत्या गरेको प्रहरीले आरोप लगाएको छ ।

बिहीबार प्रहरी चौकीमा नै रहेका मृतक वीरबहादुरको लास शुक्रबार बिहान प्रहरी चौकी नजिकै मकैबारीमा फालिएको अवस्थामा भेटिएको थियो । व्यक्तिगत मोबाइलको कल डिटेलका लागि अदालतसँग स्वीकृति लिनुपर्ने भएकाले अनुसन्धानका लागि केही समय लागेको भए पनि घटनाको अनुसन्धान भइरहेको र छिट्टै अपराधी पत्ता लाग्ने प्रहरी उपरीक्षक खत्रीले बताए ।

गोरखा जिल्ला निवासी प्रहरी सहायक निरीक्षक गुरुङ गत चैतदेखि दार्खामा कार्यरत थिए । प्रहरी चौकीका प्रमुख बिदामा गएकाले घटना भएको दिनमा गुरुङ नै प्रहरी चौकीका इञ्चार्जका रुपमा रहेका थिए । हिउँदमा यातायात साधन चल्ने भए पनि बर्खामा हिँडेर पुग्नुपर्ने दार्खा प्रहरी चौकी सदररमुकाम धादिङबेसीबाट ४० किलोमिटर उत्तरमा रहेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै