यसकारण निजी मेडिकल कलेजलाई राष्ट्रियकरण गरौँ !

खरीबोट

लेखक : विज्ञान दाहाल

काठमाडौँ।  प्रजातन्त्रको सौन्दर्यको रुपमा उदारीकरण मार्फत नीजिकरणलाई यति महत्व दिईयो कि,यस्ले न स्वास्थ्य क्षेत्र भन्यो न शिक्षा क्षेत्र । हरेक कुराको निर्धारण माग र आपुर्तिको सन्तुलनबाट हुन्छ भन्ने अर्थशास्त्रको नियम बोकेर राज्यको स्वामित्व,अधिकार र शक्ती  यति संकुचित बनाईयो कि यस्ले बजार नीजि स्वामित्वको एकाधिकार बन्न पुग्यो । 

यहाँसम्म कि गुणस्तर,मापदण्ड ,कर संकलन र सुरक्षा सम्ममा पनि राज्यको उपस्थिति बलियो हुन सकेन । ब्यक्तिगत स्वतन्त्रता र मौलिक अधिकारको चाङ लागाईयो तर धेरै हदसम्म ति सवै प्रतित्पादक बने । अधिकारको नमिठो प्रयोग सडक विस्तार गर्दा घरधनीहरुले सर्वोच्चको सहारामा सरकारलाई नै उल्टो चुनौती दिएको तथ्य हामी विच अनौठो रहेन । ठेकेदार,कर्पोरेट हाउस,मानवाधिकारकर्मी तथा अन्य संघ संगठनहरुको साख र उनीहरुको राज्यका अंगहरुमा भएको पकटले पनि राज्य कति दुरुह छ त्यसको जल्दोबल्दो कटु सत्य हामी भोगिरहेका छौँ । 

विपिले प्रजातान्त्रिक समाजबादको प्रादुर्भाव गर्नुभयो,पुष्पलालले समाजबादको आलोकलाई कम्युनिस्ट पार्टिको जागरणमा होम्नु भयो । तर विपि र पुष्पलालको समाजवादको दर्शन निकटतामा यो मुलुक छ ? वर्तमान राज्यको वास्तविक उपस्थित कहाँ हो ? उदारीकरणको मानसिकता यत्तिकै रहिरहन सक्छ ? सन् १८६० को दशकमा उदारीकरणका हिमायती  जेएसमिलले समेत निजी सम्पतिमाथि राज्यको नियन्त्रण आवश्यक छ भनि निस्कर्ष निकाली  रहदा हाम्रो प्रजातान्त्रिक नेतृत्व भने उदारीकरण मार्फत नीजिकरण नै सर्वोत्तम मोडल हो भनी वकालत गरिरहेथ्यो । संयुक्त राज्य अमेरिकाका मेकाईवर र बेलाईतका लास्किले राज्यद्वारा समाजका लागी उपयोगी कार्य गर्न सुझाव प्रस्तुत गरे । 

अझ यसैको थप विस्तारीत सन् १९४३ को बेवरिज प्रतिवेदन (Beveridge report) ले बेरोजगारी,बिमारी,भोकमरी,अज्ञानता,निर्धनता तथा आश्रामाभावजस्ता जस्ता जघन्य खरावीहरुलाई हटानका लागी राज्यद्वारा कारबाही हुनुपर्ने सम्बन्धमा सिफारिस गर्‍यो । ईटालीको लेबर सरकारले यो रिपोर्ट लागु गर्न अनेक प्रयास गर्यो ।तर नेपालमा भने उदारीकरणको एकमात्र कालो मोडल नीजीकरणलाई अन्तिम अस्त्र बनाईयो । फलस्वरूप उदारीकरणका योग्य पक्ष र पाटाहरुको अवरोहण सुरु हुन थाल्यो   । 

अठारौं शताब्दीका महान उदारवादी विचारक लक,रुसो,भोल्टेयर,बर्क र मन्टेस्क्यु हरुले भने जस्तै  ब्यक्तिको स्वतन्त्रता तथा राज्यको सत्ता परस्पर विरोधि हो भन्ने साँघुरो वृत्तमा पुग्यौं । उता  कम्युनिस्ट घटकहरुको तीन खम्बे अर्थ नीति ( नीजी,सहकारी र सरकारी) ले पनि अन्तरालमा  नीजिकरण प्रति नरम धार अंगिकार गर्यो । यस्ले राज्य मुठ्ठिभरकाहरुको अन्तर्य र प्रभावको विषय बन्यो । खास गरी वालस,लास्की बार्कर, रस्सेल, मेकाईवर, केन्स, फाईडम्यान, मेकफर्सन र लास्वेल जस्ता आधुनिक उदारीकरणका हिमायतीहरुको तृष्णा भनेको राज्यको शसक्त  उपस्थिति सहितको उदारीकरण थियो । 

तर हाम्रो उदारीकरणमा भुत्ते राज्यको परिकल्पना र निर्माण संभव भयो । भएका उद्योग,कलकारखाना र राज्यका स्रोतहरु उदारीकरणको मिठो दुस्वप्नमा नीजिकरण गरियो । स्वास्थ्य शिक्षामा त राज्यको २५% पनि हिस्सा रहेन । बाँकिलाई नियमन राज्यले कसरी गर्ला त ताकी उ सँग त्यो अनुभवको सदा अभाव नै खड्किन्छ । अहिलेको माथेमा आयोगको प्रतिवेदन र डा. केसी सत्याग्रह उदारीकरण अन्तर्गत नीजिकरणको घिनलाग्दो चेहरा हो ,जसलाई हाम्रो नेपाली समाजले राजनीतिक दर्शनको रुपमा अंगाल्यो र मलजल गर्यो । 

भनिन्छ राजनीति "आशावादीहरुको आशाको केन्द्र त हो नै,निराशावादिहरुलाई पनि आशा देखाउन सक्ने हुनु पर्छ।"के देशका राजनीतिक संक्रमणहरुले जनतामा आशा प्रवाहित गरिरहेका छन त  ? स्थिती अतीव भैसकेको छ । सवाल चिकित्सा शिक्षाको मात्र होइन समग्र शिक्षाको हो । जहाँ नीजिकरणको कालो नाफामुखी भुतको छाया मडारीरहेको र प्रतिशोध साँध्न तम्तयार छ । यस्तो बेला सरकार प्रतिपक्ष र प्रतिपक्ष सरकार जस्तो अनुभव आम जनतामा ब्याप्त छ । खुद्रा कुराहरुमा नअल्झिने हो भने,वर्तमान सरकारका सामु एतिहासिक विकल्पहरु छ्न । पहिलो, भएका नीजी मेडिकल कलेजहरुलाई राष्ट्रियकरण गर्ने घोषणा र अधिकार सम्पन्न कार्यदल ब्यवस्थापिका संसद अन्तर्गत गठन । 

राष्ट्रियकरणको निमित्त सरकारले पैसाको चिन्ता लिनु पर्दैन अझ विकल्पको तौरमा  यसमा  सरकारको ५१ प्रतिशत लगानी अर्थात सेयर  र बाँकी ४९ प्रतिशत सेयर सर्वसाधारण जनताको ,यो भन्दा अत्युक्ती मोडेल के हुन सक्छ ? यसले सरकारको एकातिर  खर्च पनि कटौटी हुन्छ भने जनतामा अपनत्वको बोध पनि गराउछ । अर्को विकल्प,नीजि विद्यालय सरह नीजि मेडिकल कलेजहरुलाई गुठि अन्तर्गत लैजाने । तेस्रो ,माथेमा आयोगको प्रतिवेदनलाई छलफलमा लैजाने र औचित्य एवं आवश्यकताको आधामा थपघट गर्ने र  चौथो तथा अन्तिम विकल्प भनेको नीजी मेडिकल संचालक,प्रमुख प्रतिपक्षी दल,अनसनरत पक्ष र सरोकारवाहरु संग वार्ता गरि निस्कर्षमा पुग्ने । 

दक्षिण अफ्रिकी राष्ट्रपति नेल्सन मण्डेलालाई प्रत्रकारहरुको प्रश्न थियो "नेता र लिडरमा के फरक छ ?" ,त्यसमा नेल्सन मण्डेलाको अत्यन्त सटिक र सान्दर्भिक जवाफ थियो,"यदि उसले अर्को चुनाव सम्मको  लागि मात्र सोच्छ भने उ नेता हो,होइन यदि उ भावी पुस्ताको लागि सोच्छ भने लिडर हो ।" त्यसकारण तमाम परिस्थिति लिडर बन्ने अवसर हुन । नेता बनेर चुनावी चिन्ताको भुमरी रोज्नु भन्दा भावी सन्ततीको खातिर हाम्रो विचार,पद्वती र दर्शन बदल्नु श्रेयस्कर हुन्छ । यसले मान्छेलाई मान्छे रहन दिदैन,महामानव बनाईदिन्छ । त्यसकारण वर्तमानको गतिरोध अन्त्यका लागी निरन्तर सहकार्य,एकता र धैर्यताका साथ समाधानको बाटो खोज्न तिर लाग्नु बढी लाभदायक हुन्छ । 
हामीलाई थाहा छ, "त्यही हुरी हो जस्ले ढडेलोलाई अझ सल्काउछ तर दियोलाई निभाउछ।" यसरी हामी यहाँ सम्म आईपुग्नुका पछाडी साना दुख,कष्ट,जेलनेल र संघर्ष छैनन् । अत: समधानलाई यति जटिल पनि नबनाईयोस कि बुज्नै नसकियोस र यति सरल पनि नहोस ताकी उपहासको विषय बनोस । निकासको छडी सामर्थ्यवान र समयको गतिको चेत बोक्न सक्ने,टेक्दा नभाँचिने हुनुपर्छ । 

अलिकती कुरा आवेग र प्रतिशोधले विग्रन्छ । ठिक त्यस्तै विरासतको भुत सरकार र अनसनरत डा. के.सी दुवैमा सवार त छैन ? एकले अर्कालाई गलाउने कुराको कुनै तात्विकता रहदैन । डा. के.सी. ले पनि कम्तिमा संसदको प्रक्रियालाई अपनत्वका रुपमा लिनु पर्छ। अनसन संसद होइन,तर नैतिक बलको सगरमाथा भने हामिले स्विकार्नु पर्छ । अर्को कुरा नियतको छ,अहिले डा. सावको समर्थनमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस देखी लिएर नयाँ शक्ती,विवेकशील साझा लगाएत साना घटकहरुको उपस्थिती उल्लेख्य छ। यसले कतै डा. साव दलहरुको मुखरा बनीरहेका त छैनन् ? कतिको संशय यो बढी राजनीतिकरण भयो भन्नेमा छ। नमिठो त त्यतिखेर भयो जब डा. सावहरुले ओ.पि.डि र वार्डहरु बन्द गर्नुभयो । सुधार र परिवर्तनको नाममा जनताले सास्ती नभोगेको कुनै पल भएन । त्यस्तै आन्दोलन वा विरोध पनि सरकारी संरचनाको जरासम्म पुग्नु सुखद होइन । यस्ले भोली उदारीकरण र पेशागत स्वतन्त्रताको रुपमा उल्टो राज्यलाई शोषण गर्ने परिपाटी संस्थागत गर्दैछ । 

त्यसकारण हामीसँग पेशागत सेवाभाव रोगी हुँदैछ। यस्ले डाक्टरी पेशा सेवा कि प्रतिफल ? भन्ने कोणमा बहस छेडेको छ । घरजमिन जेथो राखेर लाखौं लगानीमा किन मान्छे डाक्टर पढ्न उद्वत छ ? प्रतिष्ठा,प्रतिफल,सेवा वा अन्य के कारणले उत्प्रेरणा दिइरहेको छ डाक्टर पढ्न ? प्रश्न निको लाग्दो छैन ? 
त्यसैले जसरी भएपनी डाक्टर पढ्नै पर्ने सोचको क्रमभंग जरुरी भैसक्यो । अब चिकित्सक बन्न गरिने लगानी कमाउनकै लागी हो भने अन्य पेशा ब्यवसाय  रोज्न जरुरी छ । स्वास्थ्य क्षेत्रलाई निस्वार्थ सेवा क्षेत्रमा रुपान्तरण गर्नु पर्छ । यदि हामी शिक्षा र स्वास्थ्यको क्षेत्रमा यहि हिसाबले अघि बढ्ने हो भने  हाम्रो दुर्दिनहरु टाढा छैन ।

सम्बन्धित समाचार

‘ॐ’ को अर्थ र आध्यात्मिक महत्व

अन्य शब्दहरुको अर्थ भएको जस्तै ‘ॐ’को कुनै अर्थ छैन । त्यसैले ‘ॐ’शब्द होइन् । हरेक ध्वनीहरु आहादनाद हुन् । अर्थात हरेक ध्वनीहरु कुनै दुई चिजको टक्रावटबाट निस्कन्छ । तर ‘ॐ’अनाहदनाद

विचारसहितका कलात्मक र सुन्दर सिर्जनामा जोड

काठमाडौँ । साहित्य सन्ध्याको ३८५ औँ शृङ्खलामा शनिबार ‘सञ्चार माध्यममा प्रगतिशील साहित्यको स्थान’ विषयमा भएको परिचर्चामा नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य, वरिष्ठ साहित्यकार एवम् सञ्चारकर्मी रघुजी पन्तले लेखनमा नयाँ

जहाँ पानी छ

ह्यामिल्टन, क्यानडा  विश्वका धेरै भागमा बढ्दो माग पूरागर्न थप परम्परागत स्वच्छ पानीको स्रोत सामान्यतया उपलब्ध छैन । पर्याप्त स्वच्छ पानीको अभावका कारण आर्थिक विकासलाई सीमित बनाउने भन्दा पर पनि द्वन्द्व,

निजामती सेवामा समय सापेक्ष तालिम

काठमाडौँ । राज्यका नीति तथा कार्यक्रमहरुलाई व्यावहारिक कार्यान्वयन मार्फत जनतालाई सेवा प्रदान गर्नमा निजामती प्रशासनले अग्रणी भूमिका निर्वाह गर्दछ । निजामती सेवाका कर्मचारीहरुको कार्यक्षमता र कार्यशैलिले समग्र राज्य प्रणाली प्रति