काठमाडौँ । पोर्चुगलका स्टार फुटबलर क्रिस्टियानो रोनाल्डोले रियल म्याड्रिड छोडेर इटाली जानुमा धेरै आश्चर्यमा परेका छन् ।
रोनाल्डो इटाली जानुको प्रमुख कारण स्पेनको करको नियम रहेको ला लिगाका प्रमुख जाभियर टेबासले बताएका छन् । टेबासले स्पेनको कर नीतिले ला लिगाको विकासमा असर पुगेको बताएका छन् । ९ सिजन स्पेनमा बिताएर इटालीको युभेन्टस पुगेका रोनाल्डोलाई रियल म्याड्रिडमा जति कमाई गरेपनि इटालीको कर नीतिका कारण बढी फाइदा हुने टेबासले बताएका छन् ।
इटालीमा उच्च कर रेट ४६.२९ प्रतिशत छ जबकी स्पेनमा सोहि रेट ५२ प्रतिशत रहेको छ । धेरै ठुलो कमाई हुने खेलाडीका लागि यो फरकले पनि ठुलो अर्थ राख्ने भन्दै कर नीतिका कारण ला लिगाले ठुला खेलाडी अझै गुमाउन सक्ने उनले बताएका छन् ।
रोनाल्डो स्पेनमा कर छली प्रकरणमा पनि परेका थिए । केहि साता अघि मात्र रोनाल्डोले स्पेनका कर अधिकारीहरुसँग लगभग २२ मिलियन अमेरिकी डलर कर तिरेर सो विवाद मिलाएको बताइएको छ ।
रोनाल्डो अहिले नाइक ब्रान्डका प्रमुख चेहेरा हुन् । रोनाल्डोले नाइकसंग जीवन भरका लागि लगभग एक बिलियन अमेरिकी डलरको सम्झौता गरेको बताइएको छ । त्यस्तै रोनाल्डोले घडी ब्रान्ड ट्याग हेउयरको पनि ब्रान्ड एम्बेसडर हुन् भने रोनाल्डोको आफ्नै फेन्सी कपडाको ब्रान्ड सिआर ७ र होटलको चेन रहेको छ ।
यी सबैबाट हुने कमाई इटालीमा लगभग साढे ५ प्रतिशत कम कर तिर्नु पर्ने हुदा आउदो बर्ष रोनाल्डोको कमाई झन् बढ्ने बताइएको छ । फोर्ब्सले हालै प्रकाशित गरेको एक सुचिमा रोनाल्डोको पछिल्लो १२ महिनाको कमाई एक सय ३ मिलियन डलर रहेको छ ।