• २०८१ बैशाख १५ शनिबार

मलाई अपहरण शैलीमा काठमाडौं ल्याइयो - डा. गोविन्द केसी 

kharibot

काठमाडौं । जुम्लामा अनसनरत डा. गोविन्द केसीले शिक्षण अस्पतालमा पुगेपछि पत्रकार सम्मेलन गरेका छन् । 

पत्रकार सम्मेलनमा केसीले प्रधानमन्त्री केपीशर्मा ओली नेतृत्वको सरकारले क्रुरतापूर्वक आफ्नो इच्छा विपरित अपहरणको शैलीमा जुम्लाबाट काठमाडौं ल्याएको आरोप लगाएका छन् ।

‘चिकित्सा शिक्षा सुधारको माग गर्दै म जुम्लामा २० दिनदेखि अनसन सहितको सत्याग्रह गरिरहेको सबैलाई विदितै छ। त्यसै क्रममा खड्ग प्रसाद ओलीको नेतृत्वको वर्तमान सरकारले अमानवीयरूपमा क्रूरतापूर्वक सत्याग्रहीको इच्छा विपरीत अस्पताललाई युद्धभूमि जस्तो बनाई अपहरण शैलीमा बल प्रयोग गरी जुम्लाबाट काठमाडौँ ल्याएको छ’, केसीले पत्रकार सम्मेलनमा सार्वजनिक गरेको विज्ञप्तिमा भनिएको छ, ‘सरकारले गरेको ज्यादतीपूर्ण व्यवहारको घोर भर्त्सना गर्दछु।’

केसीले अनसनमा ऐक्यबद्धता जनाउने सबैप्रति आभार व्यक्त गर्दै जुम्ला अस्पतालमा भएको झडपका घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन्। उनले जुम्लाबाट सरकारले काठमाडौं ल्याए पनि आफ्नो अनसन भने निरन्तर जारी रहेने जानकारी गराएका छन् ।

‘यस सत्याग्रहमा ऐक्यबद्धता जनाउने जुम्ला लगायत देश तथा विदेशमा रहनु हुने नेपालीहरूप्रति आभारी छु। सरकारको ज्यादतीबाट घाइते हुनुभएका सम्पूर्ण व्यक्तिहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु।  ज्यादतीमा संलग्न  हुने दोषीहरूलाई कारवाहीको माग गर्दछु’, केसीले भनेका छन्, ‘माग पूरा नहुँदासम्म सत्याग्रह जारी रहने कुरा जानकारी गराउँछु। साथै आम नागरिकहरूलाई सदा जस्तै ऐक्यबद्धताको लागि हार्दिक आह्वान गर्दछु।’ 

पत्रकार सम्मेलनमा केसीले सहयोगीलाई प्रेस विज्ञप्ति वाचन गर्न लगाएका थिए ।

सरकारी वार्ता टोलीसहितको टोलीले डा.केसीलाई साँझ ७:१५ बजे शिक्षण  ल्याएको थियो । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै