• २०८१ बैशाख १८ मंगलबार

काँग्रेसको अवरोधपछि संसद बैठक साउन ३ गतेसम्मको लागि स्थगित 

kharibot

काठमाडौँ ।  प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले गरेको अवरोधका कारण प्रतिनिधिसभाको आजको बैठक स्थगन भएको छ । 

बैठकको शुरुवातमै काँग्रेसका सांसदहरुले आमरण अनशनरत डा गोविन्द केसीमा माग सम्बोधन गर्न सरकार गम्भीर नभएको भन्दै आसनबाट उठेर विरोध जनाएका थिए । 

सोही क्रममा काँग्रेसका सांसद पुष्पा भुषालले आमरण अनशनरत डा गोविन्द केसीका माग सम्बोधन गर्न सरकार गम्भीर नदेखिएको र वार्ताका लागि कुनै ठोस् पहल नगरेको आरोप लगाइन् । 

उनको प्रश्न थियो, “मुलुकमा बाढी, पहिरो र डुबानले आक्रान्त हुनुका साथै रोगको संक्रमण फैलिने सम्भावना छ, यस्तो अवस्थामा स्वास्थ्यकर्मीको आन्दोलन चर्केर मुलुकका अस्पतालमा स्वास्थ्य सेवा बन्द भएपछि जनताको स्वास्थ्य हालत के होला ?” 

उनले काँग्रेसले आमरण अनशनरत डा गोविन्द केसीका माग सम्बोधन हुनुपर्छ भनेर आवाज उठाउँदा संसद्मा डा केसी काँग्रेसलाई भोट हालेको मान्छे भनेर कुरा उठ्नु दुःखद् भएको बताइन् । 

सांसद भुषालले डा केसी जीवनमरणको अवस्थामा रहेको बेला संसद् बैठक अघि बढाउन सहयोग गर्न नसकिने बताइन् । 

सभामुख कृष्णबहादुर महराले डा केसीका माग बारेको विषय संसद्मा प्रवेश भएको र सरकार पनि गम्भीर देखिएको बताएका थिए । उनले त्यस बारेमा सरकार के भन्न चाहन्छ र सरकारको धारणा के छ, सरकारका कुरा सुन्नलाई सदनको कारबाही अघि बढाउन दिनुपरयो भनेर आग्रह गरेका थिए । 

तर सभामुखको पटकपटकको आग्रहपछि पनि काँग्रेसका सांसद आसन ग्रहण नगरी उभेर विरोध गरिरहेपछि सभामुख महराले संसद् बैठक स्थगनको घोषणा गरेका थिए । 

यसअघि आजै संसद्मा काँग्रेसको अवरोधका कारण बैठक आधा घण्टाका लागि स्थगन गरिएको थियो । प्रतिनिधिसभाको अर्काे बैठक आगामी साउन ३ गते दिउँसो १ बजे बस्नेछ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै