• २०८१ बैशाख १४ शुक्रबार

इरानविरुद्धको आर्थिक नाकाबन्दीबाट अमेरिका विस्तारै एक्लिँदै

kharibot

तेहरान, इरान । इरानसँग सन् २०१५ मा गरिएको अन्तर्राष्ट्रिय आणविकसम्झौताबाट फिर्ता हुने र इरानबिरुद्ध पुनः नाकाबन्दी लगाउने कदमबाट बिस्तारै संयुक्त राज्य अमेरिका एक्लिन थालेको इरानी राष्ट्रपति हसन रौहानीले शनिबार बताएका छन् । 

रौहानीले इरानविरुद्ध अमेरिकाद्वारा गरिने ‘षड्यन्त्रहरू’को प्रतिवाद गरी अघि बढ्ने बताए । 

“इस्लामिक गणतन्त्र इरानले रोजेको प्रतिरोधको बाटोलाई दृढतापूर्वक निरन्तरता दिनेछ,” रौहानीले टेलिभिजनमार्फत गरेको सम्बोधनमा भने । “हरेक पटक हामी षड्यन्त्रलाई चिर्न सफल भएका छौ र यसमा इरानी जनता तथा सरकार एकताबद्ध छन् ।” 

गत मे महिनामा सहयोगी मुलुकहरूको आग्रहमा अमेरिकाले तेहरान र विश्व शक्ति राष्ट्रसँग गरेको सहमतिबाट फिर्ता हुने निर्णय गरेको थियो । यससँगै अमेरिकाले इरानमाथि पुन आर्थिक नाकाबन्दीको घोषणा गरेको थियो । नाकाबन्दीसँगै कैयौँ बहुराष्ट्रिय फर्म तथा कम्पनीलाई इरानसँग कारोबार रोक्नसमेत भनिएको थियो । 

“नाकाबन्दीका बिषयमा संयुक्त राज्य अमेरिका झन्भन्दा झन् एक्लिएको छ, ” उनले भने ।  अमेरिकाको गैरकानूनी तर्कमा कुनै पनि अन्तर्राष्ट्रिय संघसंस्थाले समर्थन जनाउने छैनन् । 

सम्झौताबाट फर्किने र नाकाबन्दी लगाउने ट्रम्पको घोषणासँगै इरानमाथि खासगरी इरानी मुद्रामा भने समस्या चुलिन थालेको छ । विगत नौ महिनामा इरानी रियलको मूल्य डलरसँगको तुलनामा झण्डै ५० प्रतिशतले अवमूल्यन भएको छ । 

कैयौँ आयातकर्ता तथा निर्यातकर्ताहरूले विदेशी मुलुकसँग ब्यापार गर्न आफूसँग डलरको अभाव भएको बताउँदै आएका छन् । तर रौहानीले आफ्ना सम्बोधनहरूमा सामान आयात तथा निर्यातका लागि चाहिने आवश्यक मुद्राको सुनिश्चितता गर्ने बताउने गरेका छन् । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै