• २०८१ बैशाख १७ सोमबार

विदेश जान लागेको उपकुलपतिलाई विमानस्थलमा रोकियो , बालुवाटार लगेर एक घण्टापछि छोडियो 

kharibot

काठमाडौं । क्यानडामा हुन लागेको संस्कृत सम्मेलनमा जान लागेका नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्रा.डा. कुलप्रसाद कोइरालालाई सरकारले शनिबार रोकेको छ । 

उपकुलपति कोइरालाकै नेतृत्वमा डा. गणेश घिमिरे, डा.नवराज कट्टेल, डा. लेखप्रसाद निरौला, डा. प्रेमराज न्यौपाने र उपाप्रध्यापक केशव कोइराला क्यानडा उड्न लागेको बेला सरकारले रोकेको हो । 

क्यानडा उड्नका लागि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा बोर्डिङ पास भइसकेपछि नेपाल संस्कृत विश्वविद्यालयका कुलपतिसमेत रहेका प्रधानमन्त्री ओलीले निर्देशनमा कोइरालालाई बालुवाटार पुर्याइएको थियो । 

बालुवाटारमा प्रधानमन्त्रीले भेट्ने भनेर कोइरालालाई एक्लै कोठामा राखिएको र यता विमान उडेपछि प्रधानमन्त्रीले नभेटी फिर्ता पठाइएको थियो । प्रा.डा. कोइरालाले भने बालुवाटारमा आफुलाई एक घण्टा भन्दा बढी थुनिएको बताएका छन् । 

प्रधानमन्त्री ओलीको निर्देशन अनुसार प्रा.डा कोइरालालाई प्रहरीले बालुवाटार पुर्याए पनि अन्य प्रतिनिधि भने कोरियन एयरबाट क्यानडा उडेका छन् । उनीहरु क्यानडामा हुने संस्कृत सम्मेलनमा सहभागी हुनेछन् । 

उपकुलपति कोइरालाले शिक्षा मन्त्रालय र प्रधानमन्त्री कार्यालयलाई १२ दिनअघि नै सबै जानकारी गराएको बताएका छन् । 

विमानस्थल प्रहरीले भने उपकुलपति कोइरालालाई प्रहरीले पक्राउ गरेको नभई प्रधानमन्त्रीले बोलाएपछि प्रधानमन्त्री निवास पठाएको बताएको छ ।

प्रधानमन्त्री सुशील कोइरालाको पालामा नेपाल संस्कृत विश्वविद्यालयको उपकुलपतिमा कोइराला नियुक्त भएका थिए।

शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा संस्कृत सम्मेलनमा नेपालको प्रतिनिधित्व सहित २०२४ मा यही विश्व सम्मेलन गर्ने निर्णय भएको थियो। त्यसका लागि ३५ लाख रुपैयाँ बजेट स्वीकृत पनि गरिएको थियो। नयाँ सरकार बनेसँगै भ्रमणको बजेट घटाएर १० लाखमा सीमित गरिएको थियो।
 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै