• २०८१ बैशाख १७ सोमबार

राष्ट्रपति भण्डारीद्वारा जंगी अड्डाको अवलोकन भ्रमण

kharibot

तस्बीर : नेपाली सेना

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली सेनाको जंगी अड्डाको अवलोकन गरेकी छन् । विहिबार अपराह्न नेपाली सेनाको जंगी अड्डा अवलोकन गर्दै समसामयिक विषय तथा नेपाली सेनाको गतिविधि सम्बन्धी जानकारी लिएकी छन् । 

कार्यक्रमको शुभारम्भमा प्रधान सेनापति महारथी राजेन्द्र क्षत्रीले स्वागत मन्तव्य राख्दै नेपाली सेनाको सवलीकरण, सुदृढिकरण र सांगठनिक विकास तथा पारम्परिक मर्यादा अक्षुण्ण राख्नको लागि नेपाल सरकारबाट प्राप्त सहयोग तथा भूमिका महत्वपूर्ण रही आएको तथा नेपाली सेनाले सदैव राष्ट्रिय स्वार्थहरुलाई सर्वोपरि राखी कार्य गर्दै आईरहेको बताएका थिए ।       

नेपाली सेनाका अनुसार कार्यक्रमको क्रममा सम्बन्धित विभागका रथीबृन्द तथा अधिृकतहरुले वर्तमान बस्तुस्थितिको जानकारी गराउनुको साथै नेपाली सेनाको जिम्मेवारी, संगठन तथा नीति नियम, अपरेशनल गतिविधि र कल्याणकारी कार्यहरु सम्बन्धी प्रस्तुतिकरण प्रस्तुत गरेका थिए ।  

सो अवसरमा कार्यवाहक प्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले राष्ट्रिय सुरक्षाको महत्वपूर्ण जिम्मेवारी बोकेको तथा विशिष्ट चरित्र भएको नेपाली सेनालाई आवश्यक सहयोग गर्न रक्षा मन्त्रालय तथा नेपाल सरकार सदैव सकारात्मक रहेको बताए । 

कार्यक्रममा राष्ट्रपति भण्डारीले प्रस्तुतिकरणको लागि धन्यवाद दिदै नेपाली सेनाले हालसम्म निर्वाह गरेको भूमिकाको प्रशंसा गरेकी थिइन् । उनले नेपाली सेनालाई उच्च मनोबल तथा हौसलाका साथ नेपाल सरकारले प्रदान गरेको जिम्मेवारीहरुलाई सदाझैँ सम्पन्न गर्न निर्देशन समेत दिइन् । 

उक्त कार्यक्रममा राष्ट्रपति कार्यालय तथा रक्षामन्त्रालयका पदाधिकारीहरु लगायत नेपाली सेनाका रथीबृन्द तथा अधिकृतहरुको उपस्थिति रहेको थियो ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै