• २०८१ बैशाख १५ शनिबार

मन्दिरमा पूजासँगै मुसाको संरक्षण

kharibot

ललितपुर / घरमा मुसाले दुःख दिएर हैरान हुनुहुन्छ ? कति पटक त कपडा नै च्यातिदिएर लाउन नमिल्ने भएको होला । धेरैले मुसा भगाउनका लागि अनेक उपाय पनि गरिरहेको हुनसक्छ । 

धेरैले मुसा भगाउनका लागि अनेक उपाय लगाइरहँदा कुनै ठाउँमा मुसा संरक्षण गरिन्छ भन्नेसुन्दा अनौठो लाग्न सक्छ । काठमाडौँ उपत्यकामा नै एउटा त्यस्तो मन्दिर छ जहाँ मुसाका लागि दैनिक खानेकुरा छुट्याउने गरिन्छ । पाटन दरबार क्षेत्र नजिकै रहेको हिरण्यवर्ण महाविहार (गोल्डेन टेम्पल) त्यस्तो धार्मिकस्थल हो जसको नाम पनि मुसाको नामबाट राखिएको र मुसालाई दैनिक खान्की छुटाइन्छ । 

मन्दिर बनेसँगै नै मुसाको इतिहास जोडिएकाले अहिलेसम्म संरक्षण भइरहेको हिरण्यवर्ण महाविहार संरक्षण समितिका अध्यक्ष विकास धाख्वा बताउछन् । शाक्यमुनि बुद्ध विराजमान भएको गण्डक कुटी नामको कोठामा मुसाका लागि दैनिक खानेकुरा छुुट्याइने गरेको हो । साँझको नित्य पूजापछि मुसाका लागि खान्की राखेर कोठा बन्द गरिन्छ । उन भन्छन् , “मुसालाई पनि सात भाग छुटाइन्छ र उनीहरुले छुट्याएको भाग खाएर बस्छन् ।” 

सबैभन्दा अनौठो कुरा त के छ भने यी मुसाले क्षति गर्दैनन् । धाख्व भन्छन् , “मन्दिर परिसरको कुनै पनि ठाउँमा अहिलेसम्म प्वाल पारेको वा कुनै सामानमा क्षति भएको छैन ।”घरमा भएकाभन्दा यी मुसा फरक प्रकृतिका रहेको उनी बताउछन्। मन्दिर परिसरमा मात्रै होइन यी मुसाले छिमेकमा समेत गएर त्यहाँ गएर दुःख दिएको पनि अहिलेसम्म थाहा छैन । पाका उमेरका मानिस पनि महाविहारका मुसा पहिलेदेखि अहिलेसम्म नै शान्त र ज्ञानी स्वभावको भएको यहाँका बासिन्दा बताउँछन् । 

स्वयम्भू चैत्य स्थापना भएपछि यस ठाउँमा सुन जस्तै वर्णको र हिरा जस्तै चम्कने आँखा भएको हिरण्यिक मुसाले बास गरेको थियो । यही ठाउँमा महाविहार बनेकाले महाविहारको नाम मुसाको नामबाट हिरण्यवर्ण रहन गएको हो । 

लिच्छवि राजा भाष्करदेवका पालामा आजु चक्रेश्वर दैनिक गुह्येश्वरीको दर्शनका लागि जान्थे । जाडोका बेला एक दिन उनी बाटो बिराएर भग्नावशेष भएको पिंगला विहार पुगे । त्यहाँे एउटा चैत्य देखेपछि उनी दैनिक त्यहाँ जान थाले । 

आजुले एक दिन सपनामा त्यस ठाउँमा भगवान् बुद्धले आफ्ना मूर्तिहरु पुरिएको र त्यसलाई प्रतिस्थापना गर्दा पुण्य मिल्ने थाहा पाए । राजा भाष्करदेवलाई उनले यो कुरा सुनाए । राजाले मूर्ति भएको स्थान उत्खनन गरेर शङ्खमूलबाट पाटन भित्र्याए तर मन्दिर नबनिरहँदासम्म त्यसलाई तत्काल न्याः चुकमा राख्ने र आजुले दैनिक पूजा गर्ने कुरा बताए । त्यसपछि राजाले नयाँ विहार (न्याः बहा) बनाएर उक्त मूर्र्ति त्यहाँ सारेका थिए । 

एकदिन राजालाई भगवान् बुद्धले सपनामा आफूलाई नयाँ विहार भन्दा पनि रत्न चैत्यमा लैजाँदा पुण्य हुने भनी हिरण्यिक मुसा बास बसेको स्थानमा जान इच्छा देखाएकाले राजाले यस विषयमा ज्योतिषसँग सल्लाह गरे । ज्योतिषहरुले सुनौलो वर्ण र हिरा जस्तै टल्कने आँखा भएको मुसा स्वयम्भू रत्न चैत्यको पश्चिम दिशामा रहेको प्रमाणित गरे । सोहीअनुसार यस ठाउँमा हिरण्यवर्ण महाविहार बनाइएको हो । 

राजा भाष्करदेवले नेपाल संवत् १६५ देखि १६७ सम्म दुई वर्ष लगाएर मन्दिर बनाएको इतिहासमा उल्लेख छ । 

पाँच हजार सर्वसङ्घ सदस्य रहेको यो महाविहार नेपालको सबैभन्दा बढी सदस्य भएको महाविहार हो । मन्दिरमा एकजना पाका व्यक्ति र एकजना बालक गरेर दुईजना पुजारी रहन्छन् । जसमध्ये बालक मुख्य र पाका व्यक्ति सहायक पुजारी हुन् । 

मन्दिर परिसरमा धेरै मुसा छन् तर यति संख्यामा छन् भन्ने यकिन भने छैन । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय