• २०८१ बैशाख १७ सोमबार

सामुदायिक विद्यालयमा दिवा खाजा कार्यक्रम

kharibot

फाइल तस्विर।

बुटवल । तिलोत्तमा नगरपालिकास्थित सामुदायिक विद्यालयमा दिवा खाजा कार्यक्रम शुरु भएको छ । 

नगरपालिकाले बाल विकास कक्षाका सबै बालबालिकालाई दिवा खाजा उपलब्ध गराउन थालेको हो । नगरपालिकाले कक्षा पाँचसम्मका सबै बालबालिकालाई घरबाट खाजा ल्याउन ‘टिफिन बक्स’समेत उपलब्ध गराएको छ । 

सामुदायिक विद्यालयमा आकर्षण बढाउँदै विद्यार्थीहरुको पोषणमा सुधार ल्याउने लक्ष्यका साथ दिवा खाजा कार्यक्रम शुरु गरिएको नगर प्रमुख बासुदेव घिमिरेले जानकारी दिए । 

नगरपालिकाले आज दिवा खाजा कार्यक्रम शुरु गर्दै नगरभित्रका छ वटा विद्यालयलाई टिफिन बक्स र नगद रुपैयाँ हस्तान्तरण गरेको छ । बाँकी विद्यालयलाई क्रमशः टिफिन बक्स र नगद रुपैँया प्रदान गरिने नगरपालिकाका शिक्षा शाखा प्रमुख हरिप्रसाद ज्ञवालीले बताए । 

उनीहरुको खाजाका लागि नगरपालिकाले दैनिकप्रति विद्यार्थी रु २५ रुपैयाँका दरले विद्यालयलाई रकम उपलब्ध गराएको छ । यस्तै टिफिन बक्स पाउने सबै बालबालिकाका अभिभावकले अब आफ्ना छोराछोरीलाई विद्यालय जाँदा दिनहुँ खाजा पठाइदिनुपर्ने नियम नगरपालिकाले बनाएको छ । 

आर्थिक रुपमा खाजा ल्याउन नसक्ने अवस्थाका अत्यन्त विपन्न वर्गका बालबालिकालाई सम्बन्धित विद्यालय र वडा समितिको सिफारिशमा खाजा उपलब्ध गराउने नगरपालिकाले जनाएको छ । इसिडीका सबै र आर्थिक रुपमा खाजा ल्याउन नसक्ने कक्षा पाँचसम्मका बालबालिकालाई नगरपालिकाले खाजा उपलब्ध गराउने छ । 

नगरपालिकाले आज दिवा खाजा कार्यक्रम शुरु गर्दै नगरभित्रका छ वटा विद्यालय शान्ति नमूना, जनजागृति, सेमरी, नमूना महिला, कोटइमाई मिशुजु र कोटियामाई आधारभूत विद्यालयलाई टिफिन बक्स र नगद रुपैयाँ हस्तान्तरण गरेको हो । 

कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सापकोटाले सामुदायिक विद्यालयको गुणस्तरमा सुधार ल्याउन दिवा खाजा कार्यक्रम शुरु गरिएको जानकारी गराउँदै आगामी दिनमा सामुदायिक विद्यालयको गुणस्तर सुधारका लागि अन्य कार्यक्रमसमेत सञ्चालन गरिने बताए । 

त्यसअवसरमा शान्ति नमूना माविका प्रधानाध्यापक कुलप्रसाद लामिछानेले दिवा खाजा कार्यक्रम शुरु गरेर तिलोत्तमा नगरपालिकाले पुनित कार्यको शुभारम्भ गरेको बताउँदै यसले अत्यन्त राम्रो नतिजा दिने विश्वास व्यक्त गरे । 

तिलोत्तमा नगरपालिकामा ४३ वटा सामुदायिक विद्यालय छन् । सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण घटिरहँदा नगरपालिकाले दिवा खाजा कार्यक्रम अघि सारेको हो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै