• २०८१ बैशाख १५ शनिबार

प्रचण्ड कसरी बन्लान् एमाले कार्यकर्ताको नेता ?  

kharibot

काठमाडौँ । तत्कालिन एमाले र माओवादी केन्द्र एकीकरण पछि नेपाल कम्युनिष्ट पार्टी बनेपछि एकाएक राजनीतिक वृत तरंगित बनेको छ । सबैको अनुमान र विश्लेषणलाई गलत साबित गर्दै पार्टी एकीकरण गरेपछि अब राजनीतिक दलको रुपमा बलियो र सरकारको रुपमा अहिलेसम्मकै दरिलो सरकार बनेको छ ।

सरकारको नेतृत्व गरिरहेका प्रधानमन्त्री केपी शर्मा ओलीको राजनीतिक उडान अब फराकिलो भएको छ भने तत्कालिन माओवादी अध्यक्ष र अहिले नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष प्रचण्डको बाटो भने साघुरिएको हो की भन्ने विश्लेषण गर्न थालिएको छ ।

एकीकरणको अंकगणितलाई हेर्ने हो भने ४४१ केन्द्रीय सदस्यमा माओवादी केन्द्रले २ सय केन्द्रीय सदस्य पाएको छ । जुन ४५ प्रतिशत हो ।  सम्मानजनक एकता गर्ने भनेर रटान लगाएका प्रचण्डले केन्द्रीय समितिमा ४५ प्रतिशत हिस्सा पाएपनि अब एकीकृत पार्टीमा उनको हैसियत कस्तो हुने भन्ने विषय धेरै कुरा ओली मै भरपर्ने देखिन्छ ।  त्यस्तै ४५ सदस्यीय स्थायी समितिमा माओवादीले १९ सदस्य पाउने भएको छ ।  जुन ४२ प्रतिसत हो । एकीकरणको फर्मुला हेर्दा माओवादीले आफ्नो असली हैसियत भन्दा बढी नै पाएको देखिए पनि यो हिस्सा प्रचण्डलाई बलियो बनाउन सक्ने हुन्छ की हुदैन भन्नेमा आशंका देखिएको छ । 

प्रचण्डद्वारा एमाले कार्यकर्ताको मन जित्ने प्रयास :

पार्टी एकीकरणको सेरोफेरोमा प्रचण्डले एमालेजनको मन जित्ने हरसम्भव प्रयास गरेको देखिन्छ ।  एकीकरण कै दिन मदननगर बल्खुमा आयोजित मदन-आश्रीत स्मृति सभामा छोटो मन्तब्य राख्दा होस् या सोहि दिन एकीकरणको घोषणा सभामा प्रचण्डले व्यक्त गरेका अभिव्यक्ति हुन् दुवैमा उनले मदन भण्डारी र जीवराज आश्रितप्रति आफ्नो उच्च सम्मान रहेको भन्दै आफु एमाले कार्यकर्ताहरुको पनि नेताको रुपमा स्वीकार्य हुने प्रयास गरेको देखिन्थ्यो । राजनीतिक रुपमा प्रचण्डको यो प्रयास चलाख कुटनीतिक प्रयास भएपनि व्यबहारिक रुपमा यो कसरी अगाडी बढ्छ हेर्न बाँकी नै छ । हुन त अबको दुई बर्षपछि गरिने महाधिवेशनमा सर्वसम्मत नेतृत्व चयन गर्ने सहमति भइसकेको छ । जसमा प्रचण्डलाई सर्वसम्मत अध्यक्ष बनाउने अलिखित सहमति भएको छ ।  तर कम्युनिष्ट पार्टीको इतिहास हेर्दा लिखित सहमति त एक समयपछि विर्सेको स्थिति देखिन्छ भने अलिखित सहमति कसरी कार्यान्वयन होला ? अहिले अनुमान मात्र गर्न सकिन्छ । 

माधव नेपालको भूमिका :

पार्टी एकीकरणको प्रक्रियालाई ओली र प्रचण्डले नेतृत्वदायी भूमिका निभाएपनि वरिष्ठ नेता माधवकुमार नेपालको भूमिकालाई कम आक्न मिल्दैन ।  पार्टी एकीकरण हुनुअघि भएको प्रचण्ड र नेपालको भेटलाई एकीकरण अघिको निर्णायक भेटको रुपमा एक एमाले नेताले चित्रण गर्दै खरीबोटलाई बताए । अहिले प्रधानमन्त्री ओली र माधव नेपालको सहज सम्बन्धले गर्दा प्रचण्ड एकीकरण गरिहाल्न हिच्किचाएकाका थिए तर यसलाई नेपालले धेरै हदसम्म सहजीकरण गर्दै एकीकरण सम्भव तुल्याएको उनको भनाई थियो ।

पहिले पहिले दरबारमा हुने षडयन्त्रका कहानी जस्तो अनेकौ षडयन्त्रबाट गुज्रिदै आएको नेपालको कम्युनिष्ट आन्दोलनमा यो एकीकरणपछि त्यस्तै षडयन्त्रको शिकार प्रचण्ड नहोलान् भन्न सकिदैन ।  यसमा आफ्नो स्वास्थ्यको कारण धेरै लामो समयसम्म नेतृत्वमा बस्न सम्भव नदेखिएका ओलीपछि माधवकुमार नेपालको भूमिका अनुसार नै प्रचण्ड एकीकृत पार्टीमा स्थापित होलानकी नहोलान भन्ने निर्धारण हुने देखिन्छ । 

प्रचण्डले आफ्नै नेता कार्यकर्ताको कतिको पाउलान साथ : 

राजनीतिमा समय बदलिदै जादा गुटका समिकरण र नेताहरुको अद्ला बदली हुदै गएको देखिन्छ ।  जनयुद्ध हुदै शन्ति प्रक्रियापछि सत्ताको भुमरीमा फस्दै गएको माओवादी अब एमालेसँग एकीकरणपछि कार्यकर्ताको एउटा झुण्डले प्रचण्डलाई छोड्ने निश्चित देखिन्छ ।  लामो समयदेखि एउटै र सिमित व्यक्तिहरुले मात्र लाभको पद धारण गरेर आम कार्यकर्ता निराश भएको अवस्थामा एकीकरणपछि अब त्यस्ता कार्यकर्ताले पुरानो एमालेको गुटमा आफ्नो भविष्य खोज्न प्रयास गर्ने देखिन्छ ।  यसो गर्नसक्नेको सुचिमा तत्कालिन माओवादीका धेरै जिल्ला स्तरीय तथा केन्द्रका पनि नेताहरु रहेका छन् । एकीकृत पार्टीमा प्रचण्ड स्थापित हुन आफ्नै कार्यकर्तालाई आफ्नो पक्षमा राखिरहने चुनौती पनि देखा परेको छ ।

बैद्य र विप्लवको चुनौती :

अब औपचारिक रुपमा माओवादी केन्द्र नरहेपछि हार्डकोर माओवादी कार्यकर्ता वैद्य र विप्लवसँग जोडिन सक्ने विश्लेष्ण सुरुभएको छ । वैद्य र विप्लव एकै ठाउमा आए यस प्रक्रियाले झन गति लिने धेरैको बुझाई रहेको छ । एकीकरणको प्रक्रियासँगै पार्टीबाट बाहिरिएका गोपाल किराँती, आहुति जस्ता नेताहरु र बैद्य-विप्लवको जुगलबन्दी भएमा माओवादीका धेरै कार्यकर्ता उतातिर लाग्न सक्ने देखिन्छ ।  यसको प्रमुख कारण तत्कालिन एमालेको संगठनात्मक संरचना र उनीहरुको काम गर्ने शैलीमा धेरै जसो माओवादी कार्यकर्ता फिट हुन सक्दैनन् की भन्ने धेरैको बुझाइ रहेको छ । यस्तोमा वैद्य र विप्लवले सहि रणनिति बनाएर आगाडी आएमा माओवादी केन्द्रका अधिकांश कार्यकर्तालाई आकर्षण गर्न सक्ने देखिन्छ । 

सरकारको काम :

एकीकरणपछि जस्तो समीकरण बनेपनि धेरै कुरा सरकारले गर्ने कामबाट नै निर्धारण हुने छ ।  अहिले प्रधानमन्त्री ओलीले भने जस्तो समृद्धिका आधारहरु तय गर्ने लक्षण सरकारको काम गराईबाट देखिन्न, तर पहिलो बजेट नै अझै नल्याईसकेको अवस्थामा यसका लागि सरकारलाई अझै समय दिन सकिन्छ ।  तर अहिलेसम्मको गतिविधि हेर्दा सरकार सहि दिशा समातेर अघि बढेको जस्तो देखिदैन ।  आम जनताका आम समस्याप्रति सरकार केन्द्रित नभएर ठुला र सपना देखाउने किसिमका योजना र आयोजना बनाउने थालेको भनक देखिन्छ, जसले झन नकारात्मक संदेश दिने र सरकार असफल हुने संकेत गरेको छ ।  

आम जनताले चाहेको जस्तो, बाटो, ढल, खानेपानी, स्वास्थ्य, शिक्षा, यातायात जस्ता आधारभूत कुरालाई तत्काल देखिने गरि सम्बोधन गरेर मात्र ठुला पूर्वाधार बनाउने रणनितिमा सरकार लाग्नु पर्ने देखिन्छ । तर अहिले तीन महिनाको अवधिमा सरकार यस्तो गर्न असफल भएको छ । 

सरकारले राम्रो काम गरेर देखाए पार्टी भित्रका गुट र नेताहरुका समस्या धेरै कम हुन्छन । तर सरकार असफल भए ति गुट र नेताहरुनै समस्या बन्दै जाने छन् । एकीकरण पछि ठुलो पार्टी बनेको नेपाल कम्युनिष्ट पार्टीमा प्रधानमन्त्री ओलीले लिएको उडान सहि किसिमले ल्याण्ड हुन सकेन भने प्रचण्डको साघुरिएको कद झन् साघुरो हुने छ र दुई पाइलटले चलाएको जहाज क्र्यास हुने सजिलै अनुमान गर्न सकिन्छ ।                     
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै