क्वालालम्पुर । मलेसियाका पूर्व उपप्रधानमन्त्री अन्वार इब्राहिम बुधबार जेलमुक्त भएका छन् ।
गुदमैथुनको अभियोगमा जेल परेका इब्राहिमलाई सजाय माफी घोषणा गरेर जेलमुक्त गरिएको हो । उनलाई जेलमुक्त गरिएपछि ठूलो संख्यामा उनका सुभेच्छुकले खुशीयाली मनाउँदै र्याली निकालेका थिए ।
कालो कोटमा देखिएका ७० वर्षीय अन्वार खुशी हुँदै राजदरबार गएका थिए भने पत्रकारहरूले उनलाई लगातार पछ्याइरहेका थिए । राष्ट्रप्रमुख तथा राजा मोहम्मद पाँचौँले उनलाई पूर्ण माफी दिँदै तत्काल रिहा गर्न लगाएका थिए ।
थुनामुक्त भएपछि आफ्नै निवासमा आयोजित पत्रकार सम्मेलनमा अन्वारले आफूलाई विनाशर्त रिहा गरिएको बताए । उनलाई सन् १९९८ मा उपप्रधानमन्त्रीबाट पदच्युत गरीएको थियो भने केही समयपछि भ्रष्टाचार र गुदमैथुनको आरोप लगाएर जेल चलान गरिएको थियो ।
उनलाई सन् २०१५ देखि फेरी गुदमैथुनकै आरोपमा दोस्रो पटक काराबासको सजाय गरिएको थियो । आफूमाथि लागेको आरोपलाई भने अन्वारले अस्वीकार गर्दै राजनीतिक प्रतिशोध साँधेर गलत आरोप लगाई दण्डित गरिएको बताए ।
सन् २०१६ देखि अन्वार र पूर्वप्रधानमन्त्री माहाथिर मोहम्मदले संयुक्तरूपमा नाजिब रजाक नेतृत्वको सरकारविरुद्ध मोर्चाबन्दी गरेका थिए । उनहरूको मोर्चाबन्दीबाट बनेको पकाटन हरापन गठबन्धनले गत हप्ता भएको आमनिर्वाचनमा जित हासिल गरेको थियो ।
निर्वाचनमा विजयी भएसँगै गठन भएको नयाँ सरकारको प्रधानमन्त्री बन्नु भएका माहाथिरले दुई वर्षपछि अन्वारलाई प्रधानमन्त्री पद हस्तान्तरण गर्ने प्रतिबद्धता गरेका थिए ।
बयानब्बे वर्षीय प्रधानमन्त्री माहाथिरले दुई वर्षपछि सरकार बाहिर रहेर देशलाई सही बाटोमा लैजानका लागि सक्रिय हुने बताए ।
यसअघि लामो समय मुलुकको प्रधानमन्त्री भएर विश्राम लिनुभएका माहाथिरले निवर्तमान प्रधानमन्त्रीको कार्यकालमा मुलुकमा भ्रष्टाचार र गलत कामहरू भएको भन्दै फेरी राजनीतिमा फर्किएका हुन् ।