काठमाडौँ । मकालु एयरको विमान हुम्लामा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ ।
विमान हुम्लाको खार्पुनाथ गाउँपालिका २ बाहुन खर्कमा तीन टुक्रा भएको अवस्थामा भेटिएको हो । ९ एनएजेयु कलसाइन रहेको विमानमा चालक किरण भट्टराई, सहचालक आदित्य नेपालीले उडाएको सुर्खेत विमानस्थल कार्यालयले जनाएको छ ।
विमान टुक्राटुक्रा भएको र विमानमा सवार चालक दलका दुई सदस्यको निधन भएको कर्णाली प्रदेशका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक सुरेशविक्रम शाहले जानकारी दिएका छन् ।
मकालुको कार्गो विमान यसअघि बाजुरामा भेटिएको अपुष्ट खबर आएको थियो । सुर्खेत विमानस्थलले दिएको सो खबर आफैले गलत भएको भन्दै सच्चाएको थियो ।
सुर्खेतबाट सिमिकोटका लागि बुधबार बिहान ६ बजेर २० मिनेटमा सुर्खेत विमानस्थलबाट उडेको विमानमा सम्पर्कविहिन भएको थियो ।