• २०८१ बैशाख १७ सोमबार

किम र मुनको वार्ताले त्रासपूर्ण वातावरण हट्यो : वरिष्ठ नेता नेपाल

kharibot

रुकुम । नेकपा एमाले का वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले उत्तर कोरियाका नेता किम जोङ उन र दक्षिण कोरियाका राष्ट्रपति मून जे इनको भेटवार्ताले विश्वभर रहेको त्रासपूर्ण वातावरण हटेको बताएका छन् । 

दुई नेताबीचको भेटवार्तासम्बन्धी पहिलोपटक प्रतिक्रिया दिँदै उनले यस्तो बताएका हुन् । 

आज मुसीकोट खलंगामा प्रेस चौतारी र प्रेस सेन्टरले संयुक्त रुपमा आयोजना गरेको पत्रकार सम्मलेनमा उनले उक्त भेटघाटले दुवै देशबीच सम्बन्ध सुधारसँगै शान्ति र समृद्धिको मार्गचित्र भएको प्रतिक्रिया दिए । दुई मुलुकबीचको विवादका कारण तेस्रो विश्वयुद्ध उत्पन्न हुनसक्ने आशंका गरेका बेला भेटवार्ताले नयाँ सन्देश दिएको उनको भनाइ थियो । 

नेपालका नेता जान डराउने कोरियामा आफू गएर स्थायी शान्ति र दुई देशबीचको द्वन्द्व अन्त्यका लागि दक्षिण कोरियाका राष्ट्रपति मुनलाई सुझाव दिएको स्मरण गराउँदै नेता नेपालले उक्त भेटघाटको प्रशंसा गरे । दुई मुलुक एकापसमा मिल्नुको विकल्प नभएको भन्दै उनले अब भाइ–भाइको सम्बन्ध स्थापित हुनु पर्ने बताए । 

यसअघि उत्तर कोरियाली नेता किम जङ अन र दक्षिण कोरियाली राष्ट्रपति मुन जे इनले कोरियाली प्रायद्वीपलाई पारमाणविक अस्त्रमुक्त पार्न र सन् १९५३ मा युद्धविराममा टुङ्गिएको कोरियाली युद्धको औपचारिक अन्त्यका लागि मिलेर काम गर्ने सहमति गरेका थिए । केही महिनाअघिको वाक्युद्धको स्थितिपछि दुई कोरियाबीच भएको शिखर बैठकमा त्यस्तो सहमति गरिएको थियो । 

अर्को फरक प्रसंगमा नेता नेपालले दुई पार्टीबीच हुने एकता मिल्नका लागिमात्र नभई देशमा स्थायी शान्ति र समृद्धिका लागि पार्टी एकता हुन लागेको बताए । पार्टी एकताको प्रयास अन्तिम चरणमा पुगेको भन्दै उनले कुनै शक्तिले पनि अब एकतालाई रोक्न नसक्ने दाबी गरे ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै