काठमाडौँ । आसीसी विश्वकपको सुपर सिक्सको अन्तिम खेलमा आयरल्याण्डले अफगानिस्तानलाई २१० रनको लक्ष्य दिएको छ ।
अफगानिस्तानलाई विश्वकपमा छनौट हुन् अब २१० रनको आवश्यकता रहेको छ । यस खेलको विजेता विश्वकपका लागि छनौट हुने छन् ।
टस जितेर पहिला ब्याटिंग गरेको आयरल्याण्डले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउदै २०९ रन बनाएको हो ।
आयरल्याण्डका लागि पाउल स्टिरलिंगले सर्वाधिक ५५ रन बनाए भने केभिन ओ ब्रेनले ४१ र नेल ओ ब्रेनले ३६ रन बनाएका थिए ।
आयरल्याण्डलाई सस्तैमा समेट्न अफगानिस्तानका बलरले अनुशासित बलिङ गरेका थिए । अफगानिस्तानका लागि रशिद खानले ३ विकेट लिए भने दवलट जर्दानले २ र मोहमद नाबीले एक विकेट लिए ।
यसका साथै रशिद खानले एकदिवसीय खेलमा ९९ विकेट लिएका छन् । उनले ४३ खेल खेल्दै ९९ विकेट लिएका छन । यस अघि ९६ विकेट लिएका रशिदले आज ३ विकेट लिदै आफ्नो विकेट संख्या ९९ बनाएका छन् ।
विश्व क्रिकेटमा सबैभन्दा कम खेल खेलेर सय विकेट लिने रेकर्ड बनाउन उनि अब एक विकेट टाढा रहेका छन् ।
यस अघि यो रेकर्ड अस्ट्रेलियाका बलर मिच स्ट्राकको नाममा रहेको छ । उनले ५२ खेलमा सय विकेट लिने रेकर्ड बनाएका छन् ।