काठमाडौँ . सोमबार दुर्घटना भएको युएस बंगला एयरलाइन्समा बंगलादेशमा एमबिबिएस पढ्ने एकै कलेजका १३ जना परेका छन् ।
१३ जना मध्ये ११ जनाको मृत्यु भएको छ भने २ जनाको उपचार भइरहेको छ ।
बंगलादेशबाट प्रकाशित हुने ढाका ट्रिब्युनले यस सम्बन्धि समाचार लेख्दै १३ जना मेडिकल विद्यार्थी बंगलादेशको सिलहटस्थित राजिव रबेया मेडिकल कलेजमा अध्ययनरत रहेको उल्लेख गरेको छ ।
कलेजका प्रिन्सिपल अबेद होस्सैनलाई उदृत गर्दै उनीहरु दुइ महिनाको कलेज छुट्टी भएपछि बिदा मनाउन नेपाल आउदै गरेको बताएको छ । एमबिबिएसको अन्तिम बर्षको नतिजा आउनु अघि उनीहरु बिदामा फर्किदै गरेका थिए ।
मृत्यु हुनेहरुमा एल्जिना बराल, चारु बराल, पूर्णिमा लोहनी, मिली महर्जन, नीगा महर्जन, सन्जय महर्जन, सन्जय पौडेल, आशा शाक्य, एन्जिला श्रेष्ठ, सरुना श्रेष्ठ र स्वेता थापा रहेका छन् । दुर्घटनामा प्रिन्सी धामी र समिरा व्यन्जनकार घाइते भएका छन् । उनीहरुको सिनामंगलस्थित केएमसी अस्पतालमा उपचार भइरहेको छ ।
दुर्घटनामा मृत्यु भएका ४९ मध्ये २२ जना नेपाली परेका छन् ।
कलेजले यस घटनापछि कलेजमा तीन दिनको शोक मनाउने निर्णय गरेको पनि ढाका ट्रिब्युनले छापेको छ .