• २०८१ बैशाख १७ सोमबार

रियल म्याड्रिड च्याम्पियन्स लिगको क्वाटरफाइनलमा, रोनाल्डो र कासामिरोले गरे गोल  

kharibot

काठमाडौं । पिएसजीलाई पराजित गर्दै रियल म्याड्रिड च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ । 

गएराती भएको खेलमा रियल म्याड्रिडले पिएसजीलाई २-१ गोल अन्तरले पराजित गदै समग्रमा ५-२ ले नतिजा आफ्नो पक्षमा पर्दै रियल क्वाटरफाइनलमा पुगेको हो ।

पिएसजीको घरेलु मैदानमा भएको खेलमा रियलको जितमा क्रिस्टियानो रोनाल्डो र कासामिरोले गोल गरेका थिए भने पिएसजीका लागि एक गोल कभानीले गरेका थिए ।

आफ्ना स्टार खेलाडी नेइमार बिना मैदानमा उत्रिएको पिएसजी लगातार दोस्रो पटक च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पुग्न असफल भएको छ । अघिल्लो सिजनमा अन्तिम १६ मा बार्सिलोनासँग पराजित भएको पिएसजी यस सिजनमा रियल म्याड्रिडसँग पराजित भएको छ ।

पहिलो हाफ बिना कुनै गोल सकिएको यस खेलमा खेलको ५१औ मिनेटमा रोनाल्डोले हेडमार्फत गोल गर्दै रियललाई सुरुवाती अग्रता दिलाएका थिए । कासामिरोको क्रसमा रोनाल्डोले हेड मार्फत सुन्दर गोल गरेका थिए । 

त्यसपछि खेलको ६६औ मिनेटमा पिएसजीका मार्को भेराटीले दोस्रो पहेलो कार्ड पाउदै मैदान छोड्दा पिएसजी १० खेलाडीमा सिमित भएको थियो । भेराटीले २०१२-१३ देखि च्याम्पियन्स लिगको नकआउट स्टेजमा तेस्रो रेड कार्ड पाएको छन् ।

१० खेलाडीमा सिमित पिएसजीले खेलको ७१औ मिनेटमा कभानीको गोलको मद्धतले खेल १-१ को बराबरी गरेको थियो तर त्यसको ९ मिनेटपछि कासामिरोले गोल गर्दै रियलको अग्रता दोब्बर पारेका थिए । त्यसपछि खेलमा कुनै गोल भएन र खेल रियलले २-१ ले जित्यो । 

पहिलो लिगमा ३-१ र दोस्रो लिगमा २-१ को जितसँगै रियल म्याड्रिडले समग्रमा ५-२ को जितसहित लगातार ८औ पटक च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पुगेको हो । च्याम्पियन्स लिगमा लगातार 

क्वाटरफाइनलमा पुग्ने रेकर्ड भने बार्सिलोनासँग रहेको छ । यस अघि ९ पटक लगातार च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पुगेको बार्सिलोना अब यस पटक १०औ पटक पुग्ने तयारीमा रहेको छ ।     

यस खेलमा गोल गर्दै रोनाल्डोले लगातार ९ च्याम्पियन्स लिगका खेलमा गोल गरेका छन् । उनले यस सिजनमा खेलेका सबै ८ खेलमा गोल गरेका छन् । रोनाल्डोले पछिल्ला ९ खेलमा कुल १४ गोल गरेका छन् भने यस सिजनमा खेलेका ८ खेलमा १२ गोल गरेका छन् ।

त्यस्तै यस खेलमा रियल म्याड्रिडका कप्तान सर्जियो रामोसले च्याम्पियन्स लिगमा सबै भन्दा धेरै पहेलो कार्ड पाउने रेकर्ड बनाएका छन् । रामोसले च्याम्पियन्स लिगमा कुल ३३ पहेलो कार्ड पाएका छन् जुन अन्य कुनै पनि खेलाडीको भन्दा धेरै हो ।     
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै