सुर्खेत । प्रदेश नम्बर ६ को नाम कर्णाली प्रदेश र स्थायी राजधानी सुर्खेतको विरेन्द्रनगर भएको छ ।
शनिबार बसेको प्रदेशसभाको बैठकले अध्याधिक मत सहित प्रदेशको नाम र स्थायी राजधानी तोकेको हो । संविधानले प्रदेशसभाको नाम र स्थायी राजधानी तोक्ने अधिकार प्रदेशसभालाई नै दिएको छ ।
प्रदेश नम्बर ६ प्रदेशको नाम र राजधानी तोक्ने पहिलो प्रदेश पनि बनेको छ ।
बैठकमा एमाले संसदीय दलका नेता यमलाल कँडेलले प्रदेशको नाम कर्णाली राख्न प्रस्ताव गरेका थिए भने विपक्षी दल नेपाली कांग्रेसका का नेता जीवनबहादुर शाहीले राजधानी सुर्खेतको विरेन्द्रनगर बनाउने प्रस्ताव राखेका थिए ।
यस प्रदेशमा ४० जना सांसद रहेकोमा एमालेका चन्द्रबहादुर शाहीले राजीनामा दिएपछि अहिले ३९ जना सांसद रहेका छन । ३९ जनामध्ये ३७ जनाले प्रदेशको नाम कर्णाली प्रदेशमा मतदान गरेका थिए भने सुर्खेतको वीरेन्द्रनगर स्थायी राजधानीमा ३६ जनाले मतदान गरेका थिए ।