• २०८१ बैशाख १५ शनिबार

काँग्रेसले बोलायो सांसदहरुको बैठक, संसदीय दलको नेता चुन्ने प्रमुख एजेन्डा 

kharibot

काठमाडौं । नेपाली कांग्रेसले संसदीय दलको विधान र दलको नेता छनोटका लागि राष्ट्रियसभा र प्रतिनिधिसभा सदस्यहरुको संयुक्त बैठक बोलाएको छ ।

संसदीय दलको कार्यालय सिंहदरबारमा शनिबार बिहान ९ बजे बस्ने बैठकले कांग्रेस दलको नेता छनोट प्रक्रिया अघि बढाउनेछ । त्यसअघि कांग्रेसले बिहीबारका लागि कार्यसम्पादन समितिको बैठक बोलाएको थियो । कांग्रेसले संसदीय दलको विधान र दलको नेता छनोट प्रक्रिया अघि बढाउन बोलाएको कार्यसम्पादन समिति बैठक स्थगित गर्दै संयुक्त बैठक बोलाएको हो। 

दलको नेता छनोट प्रक्रियाअघि बढाउनुअघि नै संसदीय दलको विधानमा कांग्रेसले आवश्यक सुधार गर्नेछ। नयाँ संविधानको व्यवस्थाअनुसार कांग्रेसले पार्टी संसदीय दलको विधानलाई परिमार्जनका लागि सदस्यहरूको राय लिनेछन्। 

निर्वाचन समितिले दलको नेता छनोटको कार्यतालिका तयार गर्नेछ । संसदीय दलको नेताका लागि सभापति शेरबहादुर देउवा, महामन्त्री शशांक कोइराला र पूर्वमहामन्त्री प्रकाशमान सिंह आकांक्षी देखिएका छन्। 

सभापति देउवा पक्षको स्पष्ट बहुमत देखिएको संसदीय दलमा महामन्त्री कोइरालाले सर्वसहमति भएमात्र आफू दलको नेता बन्ने घोषणा गरेका छन् । तर, पूर्वमहामन्त्री सिंह भने सभापतिविरोधी धारको नेतृत्व गर्दै दलको नेतामा प्रतिस्पर्धा गर्ने पक्षमा छन्।

३३४ सदस्यीय संघीय संसद् (प्रतिनिधिसभा २७५ सदस्यीय र राष्ट्रियसभा ५९ सदस्यीय) मा कांग्रेसका ७६ सदस्य छन् ।  जसमा सभापति देउवा पक्षका ४२, नेता रामचन्द्र पौडेल निकट ३० र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला समूहका ४ सांसद छन्।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय