काठमाडौं । सत्तारुढ गठबन्धनको बैठक आज पनि बस्दै छ । बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा गठबन्धनको बैठक १० बजे हुने बताइएको छ ।
एमसीसी सम्झौताका बारेमा गठबन्धनमा रहेका दलहरुबीच एकमत हुन नसकेपछि पटक पटक बसेका बैठक निष्कर्षविहिन भएपछि आज हुने बैठक निर्णायक हुने नेताहरुले बताएका छन् । यसअघि बुधबार र शुक्रबार एमसीसीलाई नै केन्द्रमा राखेर बसेको गठबन्धनको बैठक निष्कर्षमा पुग्न सकेको थिएन ।
एमसीसी अनुमोदन गर्ने भए माओवादी केन्द्र सरकारबाट बाहिरिन तयार रहेको निर्णय गरेको छ भने नेकपा एकीकृत समाजवादीले यथास्थितिमा एमसीसी अनुमोदनमा सहमति नजनाउने तर संसदमा टेबुल गरेर छलफल गर्न भने विरोध नगर्ने निष्कर्ष निकालेको छ । एकीकृत समाजवादीको शनिबार बसेको स्थायी कमिटिको बैठकले एमसीसी टेबुल गर्न अवरोध नगर्ने तर यथास्थितिमा एमसीसी अनुमोदन गर्न भने नसक्ने निष्कर्ष निकालेको छ ।
जसपाले ठोस निर्णय लिन सकेको छैन । अध्यक्ष यादव माओवादी लगायत दलहरूको निर्णय कुरिरहेका छन् भने संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई पास गर्नुपर्ने पक्षमा छन् ।
एमसीसीले दिएको समयसीमा फागुन १६ गते नजिकिदै गर्दा प्रधानमन्त्री शेरबहादुर देउवा संसदबाट पारित गराउन तीव्र दबाबमा रहेका छन् । गठबन्धनले सहयोग नगरे प्रमुख प्रतिपक्षी एमालेको साथ लिएर अगाडि बढ्ने विकल्पमा पनि उनले गृहकार्य गरिहेका छन् । नेपाली काँग्रेसले गठबन्धन तोडेर भएपनि एमसीसी पारित गराउनुपर्ने विकल्पमा पनि रणनिति बनिरहेको बुझिएको छ ।
यसका लागि एमसीसी टेबुल गर्न सभामुख बाधक बनेमा उनीविरुद्ध जाने समेत काँग्रेसको रणनिति तयार रहेको बताइएको छ ।
प्रधानमन्त्री देउवाले बिहीबार मात्र एमाले अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गरेका थिए । यसअघि नै एमसीसीको विरोध गरेको सत्ता गठबन्धनको राष्ट्रिय जनमोर्चा भने सडक आन्दोलनमा छ ।
त्यसै एमालेले भने काँग्रेस गठबन्धन तोड्न र सभामुख हटाउन तयार भएमा एमसीसी पारित गर्ने र देउवा नेतृत्वको सरकारलाई सहयोग गर्न समेत तयार रहेको संदेश काँग्रेस नेतृत्वलाई दिएको छ ।









