• २०८१ बैशाख २० बिहीबार

चन्द्रागिरिमा हिमपात, त्रिभुवन राजपथ अवरुद्ध

kharibot

काठमाडौँ । राजधानीको प्रमुख पर्यटकीयस्थल चन्द्रागिरि डाँडामा हिमपात भएको छ । रातभरी परेको वर्षासँगै आज बिहानैदेखि चन्द्रागिरि डाँडामा हिमपात सुरु भएको हो । 

चन्द्रागिरिमा यस वर्ष पहिलो पटक हिमपात भएको र हिउँले डाँडा पुरै सेताम्य भएका चन्द्रागिरि हिल्स लिमिटेडका महाप्रबन्धक अभिषेकविक्रम शाहले जानकारी दिए । देशभर आज मौसम बदली भई उच्च पहाडी र हिमाली क्षेत्रमा  हिमताप भएको छ । अन्य क्षेत्रमा वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

त्रिभुवन राजपथ अवरुद्ध

त्रिभुवन राजपथअन्तर्गत पर्ने मकवानपुर जिल्लाको सीमभञ्ज्याङ र अघोरमा हिउँ पर्नाले हेटौँडा–काठमाडौँतर्फको यातायात सेवा आज बिहानैदेखि अवरुद्ध भएको छ । गए रातिदेखि बाक्लो हिउँ पर्नाले आज बिहान सवा ७ बजेदेखि यातायात अवरुद्ध भएको इलाका प्रहरी कार्यालय पालुङका प्रहरी निरीक्षक श्रीराम तिमल्सिनाले जानकारी दिए ।

उनका अनुसार उक्त स्थानमा अहिले हिउँ परिरहेकाले काठमाडौँबाट हेटौँडातर्फ र हेटौँडाबाट काठमाडौँतर्फ जाने विभिन्न सवारीसाधन सञ्चालन गर्दा दुर्घटना हुने सम्भावनाको जोखिम देखिएकाले यातायात सञ्चालनमा रोक लगाएको हो । उनले मौसम सुधार भएमा आज दिउँसो अपराह्नसम्ममा हिउँ पन्छाएर यातायात सञ्चालन गर्ने तयारी भइरहेको बताए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै