• २०८१ मङ्सिर ८ शनिबार

विप्लव निकटको अखिल क्रान्तिकारीद्वारा विद्यालयमा तालाबन्दी

kharibot

अर्घाखाँची । नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट अखिल क्रान्तिकारीले अर्घाखाँची जिल्लाको एक विद्यालयमा तालाबन्दी गरेको छ ।

विद्यार्थी र आफूहरूसँग विद्यालयले विगतमा गरेको सहमति कार्यान्वयन नगरेको भन्दै क्रान्तिकारीले भूमिकास्थान नगरपालिका-१ पिपलनेटामा रहेको विश्व माध्यमिक विद्यालयको प्रशासन कक्षमा तालाबन्दी गरेको हो । 

विद्यार्थीसँग अतिरिक्त शुल्क लिएको र हिसाबकिताब पारदर्शी नगरेको भन्दै करिब १ वर्षअघि अखिल क्रान्तिकारीकै नेतृत्वमा विद्यार्थी आन्दोलित भएका थिए । केही दिनमा हिसाबकिताब सार्वजनिक गर्ने सहमतिमा त्यसबेला विद्यार्थी आन्दोलन रोकिएको थियो । 

क्रान्तिकारीका जिल्ला अध्यक्ष बाबुराम एसकेको नेतृत्वमा विद्यालय पुगेका उनीहरूले आज दिउसो क्याम्पस प्रशासनमा तालाबन्दी गरेका हुन् । 

तत्कालीन अवस्थामा १५ दिनभित्र हिसाबकिताब सार्वजनिक गर्ने प्रतिबद्धता जनाइएको भए पनि विभिन्न समस्याका कारण सार्वजनिक गर्न नसकिएको विद्यालयले जानकारी दिएको छ । 

'उहाँहरूको मागको विषयमा हामी सकारात्मक थियौं र छौं,' विद्यालयका प्रधानाध्यापक सालिकराम आचार्यले भने, 'कोभिडको समस्या, विद्यालय व्यवस्थापन समिति नहुनु जस्ता कारण असहजता भइरहेको छ ।'

यता क्रान्तिकारीले भने विगतको सहमति कार्यान्वयन, लिइएको शुल्क फिर्ता र हिसाबकिताब पारदर्शी गर्न माग गरिरहेको छ । पूर्व प्रधानाध्यापक जुमलाल खनालको कार्यकालमा अनियमितता भएको भन्दै क्रान्तिकारीले हिसाब सार्वजनिक गर्न माग गरिरहेको छ । आफ्ना मागको बेवास्ता गरिए जे पनि हुनसक्ने चेतावनी समेत क्रान्तिकारीले दिएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै