• २०८१ बैशाख २३ आइतबार

गुणस्तरहीन काम गरेको भन्दै स्थानीयले लगाए सडक आयोजनामा ताला

kharibot

सुनसरी । राष्ट्रिय गौरवको आयोजना रानी, इटहरी, धरान हुँदै चीनको सिमाना किमाथाङ्का जोड्ने ६ लेन सडक आयोजनाको मुख्य कार्यालयमा स्थानीयले तालाबन्दी गरेका छन् । आयोजनाले गुणस्तरीय काम भन्दा छिटो काम सक्ने गरी गुणस्तरहीन काम गरेको भन्दै उनीहरुले इटहरीमा रहेको कार्यालयमा ताला गरेका हुन् । 

आयोजना अन्तर्गत पर्ने इटहरीको मुख्य चोकमा पानी निकासका लागि ठेकेदार कम्पनीले होमपाइप राखेर काम अघि बढाउन खोजेको थियो । तर, स्थानीयले वर्षायाममा होमपाइपबाट पर्याप्त पानी निकास नहुने भन्दै कल्भर्ट राख्न माग गरेका थिए । 

गत वैशाखमा होमपाइप हाल्दा स्थानीयले विरोध गरेका थिए । विरोध गरेपछि ठेकेदार कम्पनी र आयोजनाले होमपाइप निकालेर स्लप्ट हालेर कल्भर्ट निर्माण गर्ने सहमति भएको थियो । तर, आयोजनाले ८ महिनापछि कल्भर्ट बनाउनुको सट्टा होमपाइप नै राखेर सडक कालोपत्रे गराउन लागेपछि उनीहरू आन्दोलनमा उत्रिएका हुन् ।   
  
उनीहरूले जबसम्म होमपाइप झिकेर कल्भर्ट बन्दैन तबसम्म कार्यालयमा लगाइएको ताला नखोल्ने अडान लिएका छन् । इटहरी नागरिक समाजका अध्यक्ष राजु केसीले आयोजनाले दु:ख दिएकै कारण तालाबन्दी गर्नु परेको बताए । ८ महिनासम्म स्थानीयको आवाज नसुनेपछि आन्दोलनमा उत्रिएको केसीको भनाइ छ ।

होमपाइप राखेर निर्माण अघि बढाएको ठेकेदार कम्पनीलाई आयोजनाले रकम भुक्तानी गर्नुले पनि आयोजना माथि थप प्रश्न उठेको उनको भनाइ छ । ‘हामीले आफैं आएर लाएका छैनौं वडा- ६ का जनप्रतिनिधि समेतको सहभागितामा ताला लगाएका छौँ’ उनले भने । 

त्यस्तै सडक संघर्ष समितिका संयोजक ज्ञानेन्द्र दाहालले आयोजनाको लापरबाहीले इटहरीवासी वर्षेनी डुब्ने गरेको आरोप लगाए । मुख्य चोक आसपास सामान्य वर्षाले डुबानको समस्या खेप्दै आएका स्थानीयलाई आयोजनालेसमेत पेलेर निर्माण अघि बढाएको उनको भनाइ छ । 

८ महिनासम्म आज हुन्छ, भोलि हुन्छ भन्दै ओठे आश्वासन आयोजनाले दिएको  दाहालले बताए । उनले विवादित स्थानमा भएको निर्माणको तत्काल रकम भुक्तान गर्नुले आयोजना र ठेकेदार कम्पनीको मिलेमतो रहेको आरोप लगाए । 'हिजोसम्म हामी गर्दिन्छौँ भन्ने तर, आज रातारात काम सक्न खोज्ने ?' उनले भने  ‘यसले के देखाउँछ भने ठेकेदार र आयोजनाको प्रस्ट मिलेमतो छ ।’ उनले तत्काल स्थानीयको माग सम्वोधन नभए कडा आन्दोलनमा उत्रिने चेतावनी दिए । 

त्यस्तै आयोजनाका लेखा शाखा प्रमुख गुरुभक्त श्रेष्ठले होमपाइप बनाउने ठेकेदारलाई रकम भुक्तान गरिसकेकाले अब तत्काल नयाँ कल्भर्ट बन्नेमा शङ्का बढेको बताए । उनले भत्काएर नयाँ बनाउँदा लागत बढी उठ्ने र तोकेको बजेटले नपुग्ने भएकै कारण तत्काल बन्न नसक्ने बताए ।  उनले अब के गर्ने भन्नेबारे कार्यालयका इञ्जिनियर र प्रमुखसँग बसेर छलफलको माध्यमबाट समस्या सभाधानतर्फ लाग्नुपर्ने बताए । 

आयोजना कार्यालयले उक्त होमपाइप झिकेर कल्भर्ट बनाउने स्थानमा विवादकै कारण कालोपत्रे गर्न सकेको छैन । लामो समयदेखिको विवाद टुङ्गाउन नसक्दा राष्ट्रिय गौरवको आयोजना स्थानीयको घेराबन्दीमा पर्दै आएको छ । 

करिब ११ अर्ब लागतमा निर्माणाधीन सडक खण्ड २०८० सालसम्म सम्पन्न गरिसक्नु पर्ने छ । विराटनगरको रानीदेखि धरानसम्म ४२ किलोमिटर सडक मध्ये धरान र दुहबीमा विवादकै कारण ठेक्का लाग्न सकेको छैन । ठेक्का लागेका स्थानमा पनि समयमा काम सम्पन्न हुनेमा शङ्का बन्दै गएको छ । यस कारण आयोजनामाथि पटक-पटक प्रश्न उठ्दै आएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै