काठमाडौँ । २०२२ मा कतारमा हुने विश्वकप फुटबलको युरोपको छनौटको प्लेअफको ड्र सार्बजनिक भएको छ ।
युरोपबाट कतार विश्वकपमा छनौट हुने १३ देश मध्ये १० समुहबाट शिर्ष स्थानमा रहेका १० देशले कतार विश्वकपमा आफ्नो स्थान सुरक्षित गरिसकेका छन् ।
अब १० समुहका उपविजेता १० टिम र नेसन्स लिगका २ उत्कृष्ट टिम गरि १२ देश मध्येबाट तीन देशले कतार विश्वकपमा आफ्नो स्थान सुरक्षित गर्ने भएका छन् ।
प्लेअफमा रहेका पोर्चुगल र इटाली एकै पाथमा परेपछि अब पोर्चुगल र इटाली मध्ये एक देशले मात्र कतार विश्वकपमा आफ्नो स्थान बनाउन सक्ने भएका छन् ।
पाथ सी को पहिलो सेमिफाइनलमा इटालीले नोर्थ मासेडोनियासँग खेल्ने छ भने दोस्रो सेमिफाइनलमा पोर्चुगलले टर्कीको सामना गर्ने छ ।
सेमिफाइनलका विजेताले फाइनल खेल खेल्ने छन् भने विजेता देशले कतार विश्वकपमा आफ्नो स्थान सुरक्षित गर्ने छ ।
त्यस्तै प्लेअफमा पाथ ए को पहिलो सेमिफाइनलमा स्कटल्याण्डले युक्रेनको सामना गर्ने छ भने दोस्रो सेमिफाइनलमा वेल्सले अस्ट्रियाको सामना गर्ने छन् । दुवै सेमिफाइनल विजेताले फाइनल खेल्ने छन् र विश्वकपमा एक देशले आफ्नो स्थान सुरक्षित गर्ने छ ।
त्यस्तै प्लेअफको पाथ बि को पहिलो सेमिफाइनलमा रसियाले पोल्याण्डको सामना गर्ने छ भने दोस्रो सेमिफाइनलमा स्विडेनले चेक रिपब्लिकको सामना गर्ने छ । दुवै सेमिफाइनल विजेताले फाइनल खेल्ने छन् र विश्वकपमा एक देशले आफ्नो स्थान सुरक्षित गर्ने छ ।
प्लेअफका सेमिफाइनल खेल २४ मार्च, २०२२ मा हुने छ भने फाइनल खेल २९ मार्चमा हुने छ ।
युरोपबाट यसअघि १० देश विश्वकपमा पुगिसकेका छन् । जसमा जर्मनी, डेनमार्क, फ्रान्स, बेल्जियम, क्रोसिया, स्पेन, सर्बिया, इङल्याण्ड, स्वीट्जरल्याण्ड र नेदरल्यान्ड्स रहेका छन् ।