काठमाडौँ ।नेपाली राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले आज भारतविरुद्ध हुने साफ च्याम्पियनसिप २०२१ को फाइनल प्रशिक्षको टचलाइनमा उपस्थित हुन नपाउने भएका हुन् ।
प्रतियोगिताको लिग चरण दौरान दुई फरक खेलमा पहेंलो कार्ड पाएको भन्दै साफले प्रशिक्षक अलमुताइरीमाथि प्रतिबन्ध लगाएको हो ।
साफले तयार पारेको प्रतियोगिताको नियमावली अनुसार फरक खेलमा पहेंलो कार्ड खाएको प्रतिबन्ध खेलाडीलाई मात्र लाग्ने उल्लेख छ । तर खेलमा रातो कार्ड पाएमा भने अफिसियलले पनि अर्को खेल गुमाउने नियमावलीमा उल्लेख छ । तर साफले अलमुताइरीले दुई फरक खेलमा पहेंलो कार्ड खाएको कारण देखाउँदै प्रतिबन्ध हुने लेख्दै पत्राचार गरेको छ, जुन नियममा उल्लेख नभएको हो ।
साफको नियममा दुई खेलमा पहेल कार्ड पाएर अर्को खेल प्रतिबन्ध हुने नियम नरहेकोले प्रशिक्षक अलमुताइरीले पनि यो न्यायसंगत नभएको सामाजिक संजालमा उल्लेख गरेका छन् ।
अलमुताइरीले लिग चरणमा श्रीलंका र अन्तिम खेलमा बंगलादेशविरुद्ध पहेंलो कार्ड पाएका थिए । लगातार दुई खेलमा पहेले कार्ड नपाएको अवस्थामा पनि साफले अलमुताइरीलाई प्रतिबन्ध लगाएकोमा अखिल नेपाल फुटबल संघ (एन्फा) ले यसबारे पत्राचार पनि गरिसकेको बुझिएको छ । एन्फा स्रोतले प्रतियोगिता नियमावली अनुसार अलमुताइरीलाई प्रतिबन्ध लगाउन नपाउने पत्रमा उल्लेख गरेको बताइएको छ ।
साफको पत्राचारकै कारण अलमुताइरी शुक्रबार फाइनलअघि भएको पत्रकार सम्मेलनमा अनुपस्थित रहेको बुझिएको छ । भर्चुअल रुपमा आयोजना गरिएको पत्रकार सम्मेलनमा सहायक प्रशिक्षक किरण श्रेष्ठले जवाफ दिएका थिए ।