• २०८१ बैशाख १४ शुक्रबार

आर्यन खान न्यायिक हिरासतमा, जमानत बारे शुक्रबार सुनुवाई हुने

kharibot

काठमाडौँ । ड्रग्स प्रकरणमा हिरासतमा रहेका बलिवुड अभिनेता शाहरुख खानका छोरा आर्यन खानलाई अदालतले न्यायिक हिरासतमा पठाएको छ ।

यसअघि तीन दिन हिरासतमै रहन स्वीकृत दिएको मुम्बईको अदालतले आर्यन खानसहित पक्राउ परेका सातै जनालाई एक रातका लागि न्यायिक हिरासतमा राखेर जमानत बारेको निर्णय शुक्रबार दिने बताएको हो ।

मुम्बईबाट गोवा जादै गरेको पानी जहाजमा भएको रेभ पार्टीमा ड्रग्स बरामद भएपछि यस प्रकरणमा अभिनेता शाहरुख खानका छोरा आर्यन खान पक्राउ परेका थिए । नार्कोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी) ले छापा मार्दा ३० ग्राम चरेस, २० ग्राम कोकिन र २५ एमडीएमए ड्रग्सका ट्याब्लेट तथा १० ग्राम एमडी ड्रग्स बरामद गरेको थियो ।

एनसीबीले विहिबार पनि अदालतमा म्याद थपका लागि पेश गर्दै आर्यनको मोबाइलबाट महत्वपूर्ण सूचना मिलेको र उनको सम्बन्ध ड्रग्स गिरोहसंग रहेको तथ्य फेला परेको दाबि गरेको थियो ।

करिब २००० जनाको क्षमता भएको सो जहाजमा ६ सय भिआइपीले पार्टी गरिरहेका थिए । यस पार्टीको आयोजना फेशन टिभी इन्डियाले गरेको बताइएको छ । समुन्द्रको बिचमा हुने यस पार्टीमा प्रवेशका लागि ६० हजार देखि ५ लाखसम्मको टिकट बेचिएको भारतीय मिडियाले दाबि गरेका छन् । शनिबारदेखि शुरु भएको पार्टी चार दिनका लागि आयोजना गरिएकोमा पहिलो दिननै प्रहरीले हस्तक्षेप गरेको थियो । मिडिया रिपोर्टका अनुसार एनसीबीका करिब २० जना पार्टीमा टिकट काटेर सहभागी भएका थिए । पार्टीमा ड्रग्सको सेवन शुरु भएपछि उनीहरुले छापा मार्न शुरु गरेका थिए ।

एनसीबीले अहिलेसम्म दुइ महिलासहित १७ जनालाई पक्राउ गरेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।

यसअघि आर्यनले प्रहरीसँगको बयानमा आफु यस पार्टीमा आउन कुनै पैसा नतिरेको र आफुलाई अतिथिको रुपमा निमन्त्रणा आएको एनसीबीलाई बताएका थिए ।

एनसीबीले पार्टीको एक भिडियो बरामद गरेपछि सो भिडियोमा आर्यनलाई देखेपछि उनलाई सोधपुछ गरको बताइएको छ । एनसीबीले अहिले आर्यनको ड्रग्स कनेक्सनका बारेमा अनुसन्धान गरिरहेको छ ।

यस पार्टीमा बलिवुडका कैयौं सेलिब्रेटी, फेशन उद्योगसंग सम्बन्धित व्यक्तिहरु सहभागी रहेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै