काठमाडौँ । अभिनव साहित्य समाजले आख्यानकार रमेश विकलको नाममा स्थापित विकल अभिनव बाल प्रतिभा पुरस्कार २०७८ को लागि विद्यालय स्तरीय प्रतियोगिता आयोजना गरेको छ ।
जुम प्रविधिबाट स्थलगत रूपमा आशु कविता लेख्न आयोजित प्रतियोगितामा एम्बिसन एकेडेमी, बानेश्वरका प्रविज्ञा नेपाल पहिलो, सिद्धार्थ शिशु सदन, धनगढी ३, कैलालीका विभूति अधिकारी दोस्रो, जीएस निकेतन माध्यमिक विद्यालय, हेटौँडा, मकवानपुरका समर्पण न्यौपाने तेस्रो भएका छन् ।
यसैगरी सुसंस्कार माध्यमिक विद्यालय गोकर्णेश्वर नगरपालिका वडा नं ५ काठमाडौँका वन्दना जयसवाल र सोही वडाको इष्टपोल माध्यमिक विद्यालयका दिलासा तिवारीले शान्त्वना पुरस्कार प्राप्त गरेको समाजका अध्यक्ष गोविन्दप्रसाद घिमिरे ‘वेदमणि’ ले जानकारी दिए । कार्यक्रममा विभिन्न विद्यालयका ३३ जना विद्यार्थीको सहभागिता थियो ।
कार्यक्रममा नेपाल बाल साहित्य समाजका अध्यक्ष प्राडा ध्रुवकुमार घिमिरेले विकलले बाल साहित्यमा पुर्याएको योगदानको स्मरण गर्दै कविता विधामामात्र नभै अरु विधामा पनि बालबालिकाबीच यस्ता प्रतियोगितात्मक कार्यक्रम गरिनुपर्नेमा जोड दिए । बाल साहित्यकार तथा वरिष्ठ पत्रकार विजय चालिसेले प्रतियोगिताले बालबालिकालाई साहित्यिक क्षेत्रमा अघि बढ्न थप प्रेरणा मिल्ने बताए ।
प्रतियोगितामा सीता सुवेदी र शारदादेवी खनालले निर्णायकको भूमिका निभाएका थिए । कार्यक्रमका विजयी विद्यार्थीलाई आगामी लक्ष्मीपूजाका दिन रमेश विकल साहित्य प्रतिष्ठानमा आयोजना गरिने उनको जन्मोत्सव कार्यक्रममा पुरस्कार र प्रमाणपत्र दिइने जानकारी समेत गराइएको थियो ।