काठमाडौँ । रियल म्याड्रिडले पिएसजीका स्ट्राइकर किलीयन एम्बाप्पेलाई औपचारिक रुपमा किन्न गरेको प्रस्तावप्रति पिएसीजीले असन्तुष्टि व्यक्त गरेको छ ।
पीएसजीका स्पोर्टिंग डाइरेक्टर लियोनार्दोले विभिन्न मिडियालाई एम्बाप्पेको बारेमा अन्तर्वार्ता दिदै पीएसजीले एम्बाप्पेलाई किनेको मुल्य भन्दा रियलले कम मुल्य प्रस्ताव गरेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् ।
उनले एम्बाप्पेलाई मोनाकोबाट १८० मिलियन युरोमा किनेको बताउदै त्यो भन्दा कम मुल्यमा रियलसँग सम्झौता गर्न नसकिने स्पष्ट गरेका छन् ।
लियोनार्दोले एम्बाप्पे रियल म्याड्रिड जान चाहेमा नरोक्ने तर आफुहरुको शर्तमा मात्र सहमति हुने बताएका छन् । मिडिया रिपोर्टका अनुसार पिएसजीले एम्बाप्पेका लागि २१५ मिलियन युरोको माग गरेको छ । पिएसजीले एम्बाप्पेलाई बेचेमा थप ३५ मिलियन युरो मोनाकोलाई पनि दिनुपर्ने सम्झौता रहेकाले पनि रियल म्याड्रिडले एम्बाप्पेलाई किन्न कम्तिमा २१५ मिलियन युरो खर्च गर्नुपर्ने भएको हो ।
रियल म्याड्रिडले खेलाडी बिक्रि गरेर २०० मिलियन युरो संकलन समेत गरेकोले एम्बाप्पेलाई किन्न आर्थिक रुपमा समस्या नरहेको मिडिया रिपोर्टमा उल्लेख गरिएको छ ।
यसअघि रियल म्याड्रिडले एम्बाप्पेका लागि १६० मिलियन युरोको प्रस्ताव गरेको छ ।
एम्बाप्पेको अब पिएसजीमा एक बर्ष सम्झौता रहेकाले उनले सम्झौता नविकरण नगरी रियल म्याड्रिड जाने इच्छा व्यक्त गरेको उल्लेख गरिएको छ ।
आगामी जनवरीको खेलाडी ट्रान्सफर विन्डोदेखि एम्बाप्पेले फ्री-ट्रान्सफरको कुरा गर्न पाउने भएकाले पनि पिएसजीले अहिले राम्रो रकमको प्रस्ताव आएको बेला एम्बाप्पेलाई बेच्न दबाबमा आएको मिडिया रिपोर्टमा बताइएको छ । यस सिजनको खेलाडी ट्रान्सफर विन्डो अगस्त अन्तिमसम्म रहेकाले आउदा केहि दिनमा एम्बाप्पेलाई रियल म्याड्रिडले भित्र्याउने सक्ने अड्कल बाजी तिब्र भएका छन् ।
अब रियल म्याड्रिडले अर्को बर्ष फ्री-ट्रान्सफरमा भित्र्याउने सकिने सम्भावनाका बीच एम्बाप्पेका लागि कति खर्च गर्न तयार हुन्छ यो भने केहि दिनमा तय हुने देखिन्छ ।









