काठमाडौँ । शुक्रबार उद्घाटन भएको टोकियो ओलम्पिकमा शरणार्थी (रिफ्यूजीहरु) को पनि एक टिम रहेको छ ।
अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीका अनुसार 'रिफ्यूजी ओलम्पिक टिम' नाम दिएको यस टिममा २९ खेलाडीले भाग लिन लागेका छन् ।
ओलम्पिक कमिटीले रिफ्यूजी टिमका खेलाडीहरु आशाका प्रतिक भएको बताउदै विश्वलाई नै शरणार्थी समस्या बारे ध्यानाकर्षण गराउन रिफ्यूजी टिमलाई सहभागी गराइएको जनाएको छ ।
यी खेलाडीलाई अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीको कार्यकारी बोर्डले छानेको हो ।
उद्घाटन समारोहमा ओलम्पिक कमिटीका अध्यक्ष थोमस वाचले रिफ्यूजी टिमका खेलाडीहरुलाई ओलम्पिकमा स्वागत गर्दै आफुहरु खुला हातले शान्तिपूर्ण घरमा स्वागत गरेको बताएका थिए । उनले द्वन्द, भोक र अन्य कारणले आआफ्नो घर छोड्नु परेको भन्दै ओलम्पिक समुदायमा सबै बराबर र सबैलाई एकै नियम लागु हुने बताएका थिए ।
२९ सदस्यीय रिफ्युजी टिमले ओलम्पिकको उद्घाटन समारोहमा ओलम्पिकको झण्डा लिएर मार्च पास गरेका थिए ।









