• २०८३ असार १५ सोमबार

लस एन्जलसमा ओलम्पिकमा महिला क्रिकेटतर्फ चार देशको टुंगो, यसरी हुदैछ टिमको छनौट

लस एन्जलसमा ओलम्पिकमा महिला क्रिकेटतर्फ चार देशको टुंगो, यसरी हुदैछ टिमको छनौट

काठमाडौँ । सन् २०२८ मा अमेरिकाको लस एन्जलसमा हुने ओलम्पिकको महिला क्रिकेट प्रतियोगिताका लागि अस्ट्रेलिया, भारत, दक्षिण अफ्रिका र बेलायतले स्थान पक्का गरेका छन् ।

यी चार टोलीले महिला टी–२० विश्वकप २०२६ मा आफ्नो महादेशका सबैभन्दा सफल योग्य टोलीका रूपमा प्रतिस्पर्धा सकाएपछि ओलम्पिकमा स्थान सुरक्षित गरेका हुन् । अस्ट्रेलिया ओसिनिया, भारत एसिया, दक्षिण अफ्रिका अफ्रिका र बेलायत युरोपबाट छनोट भएका छन् ।

महिला विश्वकपको सेमिफाइनलसम्म पुगेको वेस्ट इन्डिज भने ओलम्पिकमा सिधै खेल्न पाउने छैन । वेस्ट इन्डिज धेरै राष्ट्रको संयुक्त टोली भएकाले यसलाई अन्तर्राष्ट्रिय ओलम्पिक समितिले छुट्टै राष्ट्रिय ओलम्पिक समिति रूपमा मान्यता दिएको छैन । यद्यपि सन् २०२७ मा आयोजना हुने अन्तर्राष्ट्रिय क्रिकेट परिषद्को ओलम्पिक छनोट प्रतियोगितामार्फत उसले ओलम्पिकमा पुग्ने अवसर पाउनेछ ।

पुरुषतर्फका चार टोलीको टुङ्गो भने सन् २०२६ डिसेम्बर ३१ सम्मको अन्तर्राष्ट्रिय टी–२० वरियताका आधारमा हुनेछ । अफ्रिका, एसिया, युरोप र ओसिनियाबाट सबैभन्दा माथि रहेका योग्य टोलीले ओलम्पिकमा स्थान बनाउनेछन् ।

आयोजक राष्ट्रका रूपमा अमेरिका पुरुष र महिला दुवै प्रतियोगितामा छनोट हुने अवसरमा छ । त्यसका लागि सन् २०२६ जुन ३० देखि डिसेम्बर ३१ सम्मको अवधिमा सम्बन्धित टी-२० वरियतामा शीर्ष १५ भित्र पर्नुपर्नेछ । हाल अमेरिकी पुरुष टोली १३औँ स्थानमा रहेकाले उसको छनोट लगभग निश्चित मानिएको छ ।

अमेरिकी महिला टोली भने हाल २०औँ स्थानमा छ । यदि उसले आवश्यक मापदण्ड पूरा गर्न नसकेमा पाँचौँ स्वतः छनोट स्थान सन् २०२७ मार्च १ सम्मको टी-२० वरियतामा रहेका अझै छनोट नभएका सबैभन्दा माथिल्लो टोलीलाई दिइनेछ ।

दुवै विधाको छैटौँ टोली सन् २०२७ मा हुने ओलम्पिक छनोट प्रतियोगिताबाट तय हुनेछ । त्यस प्रतियोगितामा पुरुष र महिला दुवैतर्फ आठ-आठ टोलीले प्रतिस्पर्धा गर्नेछन्, जसको छनोट पनि अन्तर्राष्ट्रिय टी- २० वरियताका आधारमा हुनेछ।

यदि सन् २०२६ डिसेम्बर ३१ सम्म वेस्ट इन्डिजका पुरुष वा महिला टोली छनोट नभएका शीर्ष आठ टोलीभित्र परेमा क्यारेबियन क्षेत्रका लागि छुट्टै छनोट प्रतियोगिता आयोजना गरिनेछ । त्यसबाट ओलम्पिक छनोट प्रतियोगितामा सहभागी हुने टोली तय हुनेछ ।

ओलम्पिकमा पुरुष र महिला दुवैतर्फ छनोट भएका ६-६ टोलीलाई तीन-तीन टोलीका दुई समूहमा विभाजन गरिनेछ । प्रत्येक टोलीले आफ्नो समूहका अन्य दुई टोलीसँग एक-एक खेल खेल्नेछन् । त्यसपछि अर्को समूहका समान स्थानमा नरहेका दुई टोलीसँग थप दुई खेल खेल्नेछन् ।

अन्तिम अंकतालिकामा शीर्ष दुई टोलीले स्वर्ण र रजत पदकका लागि प्रतिस्पर्धा गर्नेछन् भने तेस्रो र चौथो स्थानमा रहने टोलीबीच कांस्य पदकका लागि खेल हुनेछ ।

दुवै विधा गरी ओलम्पिक क्रिकेटमा कुल २८ खेल हुनेछन् । सबै खेल अमेरिकाको पोमोनामा विशेष रूपमा निर्माण गरिने क्रिकेट मैदानमा आयोजना गरिनेछ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै