काठमाडौँ । अमेजनका संस्थापक जेफ बेजोसले मंगलबार अन्तरिक्षको सफल यात्रापछि सबैलाई सरप्राइज गर्दै २०० मिलियन डलर सहयोग गर्ने घोषणा गरेका छन् ।
बेजोसले अन्तरिक्षको सफल यात्रापछि गरेको पत्रकार सम्मेलनमा सिएनएनमा कन्ट्रीब्यूटरको काम गरिरहेका भान जोन्स र जोस आन्द्रेजलाई १००-१०० मिलियन डलर दिने घोषणा गरेका हुन् ।
बेजोसले यो सहयोग परोपकारी कामसँग जोडिएको बताएका छन् । उनले यसलाई साहस र सभ्यता पुरस्कार भनेका छन् । उनले यस पुरस्कारको घोषणा गर्दै जसले साहस प्रदर्शन गरेको छ विभाजनकारी विश्वमा एक जुट हुने कोशिश गरेको छ, त्यस्ता व्यक्तिलाई सम्मानित गर्ने बताएका छन् ।
साथै १००-१०० मिलियन डलर जोन्स र आन्द्रेजलाई दिने घोषणा गर्दै बेजोसले यो रकम खर्च गर्न उनीहरु स्वतन्त्र रहेको बताएका छन् ।
बेजोसले जोन्स र आन्द्रेजलाई उनीहरुको सामाजिक कामका लागि यो रकम दिएका हुन् । भान जोन्सले 'ड्रीम क्रोप्स' नामक संस्था शुरु गरेर क्रिमिनल जस्टिस रिफर्म अर्गनाइजेसनको रुपमा आफ्नो काम गरिरहेका छन् भने आन्द्रेजले 'वर्ल्ड सेन्ट्रल किचेन' नामक संस्थाबाट भोकमरीको समस्या समाधान गर्न पहल गरिरहेका छन् ।
बेजोसले जोन्स र आन्द्रेजले यस विश्वलाई बस्न लायक बनाउने पहल आफ्नै किसिमले गरिरहेकोले उनीहरुलाई प्रोत्साहित गर्न यो रकम दिने घोषणा गरेको बताएका छन् ।









