• २०८१ बैशाख २४ सोमबार

गुह्येश्वरीमुनिको वाग्मती किनारमा सफाइसँगै गुर्जो रोपण

kharibot

फाइल तस्वीर

काठमाडौँ । असारे झरीका बाबजुद बिहान ७:०० बजेदेखि नै सफाइ अभियानकर्मी गुह्येश्वरी मन्दिरमुनिका वाग्मती किनमार भिज्दै जम्मा भए ।

काठमाडौँ उपत्यकाको सभ्यताको स्रोत वाग्मती र विश्वमै महत्वपूर्ण शक्तिपीठका रुपमा लिइने गुह्येश्वरी क्षेत्रमा सफाइ गरियो । ‘हप्तामा दुई घण्टा राष्ट्रका लागि स्वयंसेवा’ भन्ने नाराका साथ अभियानकर्मीले विगत नौ वर्षदेखि यसैगरी महाअभियानलाई निरन्तरता दिँदै आएका छन् ।

नौ वर्षअघि २०७० साल जेठ ५ गते गुह्येश्वरी मन्दिरअघिको नदी किनारबाट नै वाग्मती सफाइ महाअभियान शुरु भएको थियो । महाअभियानको ४२५औँ हप्तामा गुह्येश्वरी मन्दिरअघिको नदी किनारमा सफाइसँगै गुर्जो रोपण गरिएको छ । अधिकारसम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिको संयोजनमा सफाइ र गुर्जो रोपणसमेत गरिएको हो । 

सफाइमा समितिका अध्यक्ष उद्धवप्रसाद तिमल्सिना, सञ्चालक समितिका सदस्य, कर्मचारीलगायतको सक्रियता थियो । सफाइपछि वाग्मती नदी किनार र अधिकारसम्पन्न वाग्मती समितिको कार्यालय परिसरमा गुर्जो रोपण गरिएको हो ।

नदी किनार र कार्यालय परिसरमा गरी करीब ३०० बिरुवा रोपण गरिएको गुर्जो अभियानकर्मी कमलबहादुर राजलवटले जानकारी दिए । कार्यक्रममा अध्यक्ष तिमल्सिनाले औषधीय गुणले युक्त वनस्पति गुर्जो सबै क्षेत्रको वाग्मती किनारमा रोप्न सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । बहुउपयोगी वनस्पति भएकाले अभियानकर्मी राजलवटलाई कार्यालयले नै बोलाएर गुर्जो रोपण गराएको उनले सुनाए ।

कार्यक्रमको संयोजन अधिकारसम्पन्न वाग्मती समितिका सञ्चालक सदस्य डा माला खरेल र पूर्वसहसचिव एवं योगगुरु किशोरकुमार जोशीले गरेका हुन् । आन्तरिक राजश्व कार्यालय धुलिखेलको कार्यालय प्रमुख रहनुभएका राजलवटले कोरोना महामारी शुरु भएपछि विसं २०७६ देखि नै निःशुल्क गुर्जो रोपण अभियान चलाउँदै आएका छन् । 

आन्तरिक राजश्व कार्यालय लहानको कार्यालय प्रमुख हुँदा त्यहाँको सरकारी आवास गृह परिसरमा उत्पादन गरिएको गुर्जोका बिरुवा उनले गत वर्ष देशभर निःशुल्क बाँडेका थिए । गुर्जो मानव शरीरमा रोग प्रतिरोधी क्षमता विकास गर्ने वनस्पति भएकाले यसबाट बनेको चिया र धुलो उपयोगी मानिन्छ । यसको डाँठ र रस पनि सेवन गरेर आरोग्यता प्राप्त गर्न सकिने जनाइएको छ । गुर्जोका विषयमा ५०० भन्दा बढी अनुसन्धान गरिएकामा यो बहुउपयोगी वनस्पति पुष्टि भएको जनाइएको छ ।

उच्च रक्तचाप, मधुमेह, कब्जियतलगायत रोगका लागि फाइदा गर्ने गुर्जो गर्भवती महिला र पाँच वर्षमुनिका बालबालिकाले भने खान नहुने जनाइएको छ । न्यून रक्तचाप भएकाले भने बिरे नुन वा नुन मिलाएर खान सकिने अभियानकर्मी राजलवट बताउछन् ।

नयाँ भेरियन्टसहितको कोरोना महामारी फैलिएपछि आन्तरिक राजश्व कार्यालय धुलिखेलका कार्यालय प्रमुख प्रमुख कर अधिकृतका रुपमा कार्यरत राजलवटले रोग प्रतिरोधी क्षमता वृद्धि गर्ने गुर्जोबाट बनेको चिया र धुलो ३६ जिल्लाका १२१ केन्द्रबाट निःशुल्क वितरणको व्यवस्था मिलाएका छन् ।

विसं २०७६ चैतमा कोरोनाबाट बच्न बन्दाबन्दी जारी गरेदेखि नै उनले गुर्जोका बिरुवा र यसबाट बनेको चिया र धुलो निःशुल्क वितरण गर्दै आएका थिए । विसं २०७६ एक लाख ६० गुर्जोका बिरुवा निःशुल्क वितरण गरेका उनले यस वर्ष पनि करीब ११ हजार बिरुवा निःशुल्क बाडेका छन् । एक घरमा एक गुर्जोको बिरुवा हुर्काएर विभिन्न रोगबाट बच्ने शक्तिका लागि औषधि बनाउन सकिने राजलवटको विश्वास छ ।

आयुर्वेद शास्त्रको ‘यस्य देशस्य यो जन्तो : तस्य तद् औषधं हितम्’ अर्थात् मानिस जुन स्थानमा जन्मन्छ उसलाई औषधिको काम गर्ने वनस्पति त्यहीँ हुन्छ भन्ने वचनका आधारमा प्रत्येक घरमा एउटा गुर्जोको बिरुवा रोपाउने अभियानमा आफू लागेको उनी बताउछन् । घरसँगै सार्वजनिक स्थलमा पनि गुर्जो रोपेर मानवलाई आवश्यक परेका बेला औषधिका रुपमा उपयोग गर्न सकिने विश्वास लिइएको छ ।

विष्णुमती सफाइ ३५७ औँ हप्तामा

विष्णुमती सफाइ अभियानको ३५७औँ हप्तामा टोखा नगरपालिका–९ आनन्द पुलबाट मनमैँजु पुलसम्म सडकमा छरिएका पोल, पोलबाट सडकमा लत्रिएका तार सफा गरिएको छ । भाँचेका र उखेलिएका बिरुवालाई संरक्षण गर्न तार प्रयोग गरिएको छ । 

रड गाडेर बिरुवालाई तारले बानेर जोगाउने प्रयत्न गरिएको सफाइ संयोजक शोभाकान्त पाण्डेयले जानकारी दिनुभयो । विष्णुमती किनारका विभिन्न स्थानमा बिरुवा रोपिएकामा त्यसको संरक्षणमा बसै जुट्नुपर्ने आवश्यकता देखिएको उनले सुनाए ।

यसैगरी वाग्मतीको सुन्दरीघाट खण्ड सफाइ अभियानको २३५औँ हप्तामा चोभारगेट इलाकामा सफाइ गरिएको संयोजक चित्र सुनुवारले जानकारी दिए । नयाँ भेरियन्टसहितको कोरोना महामारी जारी रहेकाले स्वास्थ्य मापदण्ड पालना गर्दै भौतिक दूरीका साथ सफाइ गरिएको थियो । 

विसं २०७० जेठ ५ गते वाग्मती सपाइ महाअभियान शुरु भएपछि यसका सहायक नदीमा पनि सफाइ अभियान भइरहेको छ । वाग्मतीसँगै आज रुद्रमती, विष्णुमतीको माथिल्लो भेग, चक्रपथका उत्तर पश्चिमी खण्ड, मनोहरा, ललितपुरको गोदावरी खोला लगायत स्थानमा पनि दूरी कायम गर्दै सफाइ गरिएको छ । यसैगरी वाग्मतीको गुह्येश्वरीमाथिको खण्ड र शङ्खमूल क्षेत्रमा पनि सफाइ गरिएको छ ।

महाअभियान शुरु भएदेखि जाडो, गर्मी, वर्षा, विपद्, कोरोना महामारी, चाडपर्व जस्ता प्रतिकूल अवस्थामा पनि सफाइ रोकिएको छैन । आज बिहान पनि वर्षाका बीच छाता लगायत ओढेर सफाइ अभियानकर्मी नदी किनारमा सफाइ गरेका थिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै