• २०८१ बैशाख १४ शुक्रबार

हाम्रो शिक्षा प्रणाली: जेल जस्तो विद्यालय, कैदी जस्ता विद्यार्थी

kharibot

अक्सर शिक्षक र विद्यार्थीको उमेरको फरक कम्तिमा बीस बर्ष हुन्छ।बिचार र भिन्न्ताको त यो दुनिया नै हो।यहाँ दिनमै प्रबिधिमा परिवर्तन छ। संसार कक्षाकोठा मै आइपुगेको छ ।

पढेको सिकाउने र विद्यार्थीले सिक्न्ने कन्टेन्ट पनि फरक हुने नै भो । अझ रमाइलो कुरा त आफू नै एड्जस्ट हुन नसकेको शिक्षकले बालकको जीवनमा आउने परिवर्तन र विश्व परिस्थिति सगँ कसरी ब्यवहार गर्ने र एड्जस्ट हुने भनेर कसरी सिकाउने? बालकलाई भविष्यको लागि तयार कसरी गर्ने? यो सर्वाधिक पेचिलो प्रश्न र चुनौती पनि हो ।

ज्ञानको असिमित क्षेत्रको संभावना बोकेको बालकलाई बिद्यालयले वातावरण प्रदान गर्नुपर्नेमा उल्टै  बहाना बनाएर सिमित गरिदिन्छ। जीवन र बिद्यालय बिच पर्खाल लगाएर सिमाना खडा गरिदिन्छ। परिणाममा बालक बहिर्गमन गर्छ।स्टिभ जब्स,आइन्सटाइन,ग्यालिलियो जस्तै तर खुशीको कुरा बिद्यालय बाहिर नै थुप्रै विद्वान जन्मिन्छ्न्। त्यसैले बिद्यालय कसैको जेल र कसैको लागि चुनौतीको सामना गर्ने क्षेत्र त भइरहेको छैन्?सिक्नुपर्दैन् यी उदाहरणबाट ।

अल्बर्ट आइन्स्टाइनले भनेको जस्तै ` जो व्यक्तिले धेरै पढ्छ, तर आफ्नो दिमाग भने थोरै मात्र प्रयोग गर्छ भने ऊ विचारको कुरामा अल्छी बन्छ।´बिद्यालयले बालकमा नयाँ विचार ल्याउन मद्धत गर्नुपर्ने हो तर उल्टै दिमागी अभ्यास र प्रयोगमा कमि ल्याउने काम बिद्यालय,शिक्षक  र पाठ्यक्रमले गर्यो। नत्र बालकले जे सुकै सकारात्मक कार्य पनि गर्न सक्थ्यो ।

रबिन्द्रनाथ टैगोर भन्छ्न्--`आफ्नो बच्चालाई आफूले सिकेको ज्ञान मात्र दिन नखोज । ऊ तिमीभन्दा फरक समयमा जन्मिएको छ।´ यहाँ त आफूले सिकेको सम्म पनि सिकाइदैन् नयाँ कुराको त कुरै छोड्यौँ। दु:खको कुरा सात दशक हुदा पनि  हामीकहाँ बालक सिकाइको केन्द्र हुनै सकेन।पाठ्यक्रम र शिक्षक नै केन्द्र छ्न्।बालक त छाँया या परिधिमा छ ।

भिक्टर हयूगोको यो भनाइ   `जसले विद्यालय खोल्छ, उसले जेलको ढोका बन्द गर्न मद्दत गरिरहेको हुन्छ।´ सत्य भएको भए हुन्थ्यो तर जेल र बिद्यालय समानान्तर भएको देख्दा दु:ख लाग्छ।बिद्यालय बिजनेस हुनगयो।ठगिखाने भाडो भयो ।भविष्य बनाउने पवित्र सस्था रहेन्।यो दु:खको कुरा हो। यत्रो बिद्यालय खुल्दा पनि जेल बन्द भएनन् बरु अझ बढे। सायद आज हयूगो हुन त रुदा हुन्। कि यो भनाई फिर्ता लिदा हुन् या उनले स्पष्ट पार्थे होलान्। बालबालिकाको प्रतिभा सहि उत्तर र अधिक नम्बरको चक्करमा बिद्यालयले बलि चढाएका देख्दा को रुदैन होला र ? कसको मन दुख्दैन् ।

असिमित क्षमता बोकेको बालकलाई बिद्यालयले सिमित गरिदिन्छ।एउटा क्षमता भएकोलाई अर्कै बनाउने पूर्वनिर्धारित संरचित पाठ्यक्रममा ढालिन्छ र बटारिन्छ।न यो  न त्यो बन्छ।अलपत्र हुन्छ।चाहेको गर्न पाउदैन्।नचाहेको गर्न मन नै लाग्दैन्। बिद्यार्थीको रुचि र दक्षता  राम्रोसंग नियाल्न नसक्नु नै विद्यालयको न्यूनस्तर र असफलता हो ।  सबैभन्दा उच्चकोटीको शिक्षा त्यो हो जसले सूचना दिने मात्र होइन कि जीवनलाई यस संसारसँगको सह-अस्तित्वमा जीउन सिकाउँछ। तर यथार्थमा के छ भने सह-अनुभूति को शिक्षा लाई  स्कुलले योजनाबद्ध रुपले तिरस्कार गर्ने मात्र होइन निर्दयी रुपमा दबाउँछ।यसरी कसरी होस बिद्यालय सफल ।

अहिले खासगरी गणित बिषयलको पढाइको चिन्ताले विद्यार्थीको बुद्धिको बिनास गर्दै आएको प्रतीत हुन्छ।विद्यार्थीले जहिल्यै आत्मरक्षाका लागि लागिरहनु पर्ने अरु केही सोच्न नदिने भारी बोकेर हिड्नुपर्ने पीडादायी स्थिति जो छ यो राम्रो होइन् यो भन्दा त बरु बिद्यालय बाहिर पो केही सिक्थ्यो कि ? आत्मरक्षा त गर्नु पर्थेन। कुनै पनि बिषयको विद्यार्थीको मौलिक बुझाइलाई पत्ता लगाउन नलागेर पहिले आफूले भनिदिने र त्यही सँग सम्बन्धित रहेर परीक्षा लिने गर्दा विद्यार्थीहरुको मौलिकता मरिरहेको छ यो काम बिद्यालयले जानी नजानी गरिरहेको छ।बिद्यालयहरु निरर्थक तरिका अपनाएर निरर्थक बिषयमा निरर्थक उत्तरको गोलचक्करमा फसिरहेका छ्न्। खेल्दा खेल्दै गणितीय ढाँचा खोज्न र चिन्न सिकाउनु पर्नेमा सिधै बिषयबस्तुमा प्रवेश गरेर बिषयलाई निरस र निरर्थक बनाउन जानी नजानी उद्द्त देखिन्छ्न् ।

मार्टिन लुथर किङ भन्छ्न्--` बुद्धिमान र असल चरीत्रवान बनाउने लक्ष्य वास्तविक शिक्षाको हो।´ शिक्षा प्रदान गर्ने शिक्षालयले दुबै गर्न सकेन्।कैद गरेर बालकलाई यो लक्ष्य हासिल हुनेछैन्। बिद्यालयले विद्यार्थीको ब्रेनलाई मात्र सिन्चित गर्ने होइन हृदयलाई पनि सिंचित गर्नु पर्छ।प्रेम सिकाउनु पर्छ।प्रश्न गर्न सिकाउनु पर्छ ।तर त्यस्तो देखिदैन्। घोकाएर रटाएर नक्कल गरेर बालकले कागजी प्रमाणपत्र लिनुको केही अर्थ छैन्।जब कि त्यो बजारमा बिक्तैन अनि थाहा पाउँछ ।

बिद्यालयले बिद्यार्थीको आन्तरिक क्षमता र रुचि माथि बन्देज लगाएर सैदान्तिक खुराग खुवाएर चुपचाप उसको मौलिकता हत्या गर्छ भन्ने गरिन्छ। हुनपनि बिद्यालयलाई विद्यार्थीको मौलिकताको हत्यारा पनि भन्ने आरोप पनि छ।सिन होइन अनसिन जेलको रुपमा बिद्यालयलाई लिइन्छ। रुसोले पहिल्यै भनिसकेका छ्न्--`कितावहरु जलाऊ,पर्खालहरु भत्काऊ र बालकलाई प्रकृतिको काखमा लगेर फ्याँक ।´

नैतिकता,शुद्ध आचरण र निष्ठा सिकाइएन र सिकेन भने जति बौद्धिक भएपनि मान्छे काम लाग्दैन्।असल बन्ने छैन् ठूलो बन्न सक्ला। हिटलरको ग्यास च्याम्बर बनाउने बिद्या के काम ? जसमा लाखौलको जीवनलाई नष्ट गर्यो। बिद्यालयमा नैतिकता र आध्यात्मिकता सिकाइन्न किनकि शिक्षाको साधन र साध्य भनिएको पाठ्यक्रम नै त्यस्तो छैन्। अनि जति डिग्री लिएपनि मौका मिल्नेसाथ भ्रष्टाचार गरिहाल्छ।तथ्यांकले नेपाली इन्जिनियरलाई सबै भन्दा बढी भ्रष्टाचारी देखाएको छ के ती सबैभन्दा अब्बल थिएनन् र पढाइमा? अहिले नपढेको कसले पो भ्रष्टाचार गरेको छ र? कुन अनपढ बुज्रुकले बम र बारुद  बनाएको छ र ? कुन सिधा साधाले बन्दुक पड्काउन लगाएको छ र ? के शिक्षाले यहि चाहेको हो? बिद्यालयले यस्तै उत्पादन खोजेको हो ?

अहिले युनेस्कोको `र्पूण बन्नका लागि सिकाइ´ इभान  इलिचको  `निर्विद्यालयीकरण समाज´ जोन  हल्टको  `असफल  स्कुल´  रेमरको `मृत  विद्यालय´ पाउलो  फ्रेको  `शिक्षण पद्धतीय  उत्पीडन´   जस्ता  सिर्जना  मार्फत  शैक्षिक  क्षेत्रमा  नविन  दृष्टिकोणहरु विकास भएका छन् । यी मान्यता र दृष्टिकोणले शिक्षकको भूमिका उल्टाईदिए भने निर्दिष्ट गरिएको शिक्षक केन्द्रको र बिद्यालयको यथास्थिति  भूमिका पनि अन्त्य गरिदियो । तर हामीकहाँ उहीँ पूरानो ढंगले अहिलेसम्म पनि चलाइरहेका छौ।बयगाडा चडेर अमेरिकी यात्रा तय गरे जस्तै ।

बिद्यालय  दर्शनशास्त्रको  अवधारणा र  प्रयोगमा  समेत  स्खलित  हुन  पुग्यो  ।  न  त  बिद्यालयले प्रकृतिवादमा जस्तो केवल वालकको अवलोकनकर्ता र मञ्च निर्माताको भूमिकामा शिक्षकलाई उभ्याउन  सक्यो न त  यथार्थवादमा  जस्तो  कक्षाकोठामा  वास्तविक  ज्ञान  प्रदान  गर्न  सक्यो  न  त  आदर्शवादमा  जस्तो विचार खन्याउन सक्यो न त प्रयोगवादमा जस्तो समस्या समाधानको परामर्शदाता नै बन्न सक्यो न त अस्तित्वादमा जस्तो विद्यार्थीहरुलाई आत्मअनुभूति प्राप्तिका कार्यमा सहयोग पुर्‍याउन सक्यो न त प्रतीकात्मकवादमा  जस्तो  चेतना  र  अभिप्रायमा  केन्द्रीत  हुन  सक्यो  न  त  निर्माणवादमा  जस्तो सिकारुलाई  सिर्जनशील  बनाउन  सक्यो। न त यी सबैलाई मिलाएर एकीकृत पद्धति निर्माण गर्न सक्यो। न त बालकलाई मानव बनाउन सक्यो।  यी  सबै  भूमिकाहरु  गतिमा  आएका  हुन  ।  बिद्यालय आफू परिवर्तन भएर एकपछि अर्को समय सन्दर्भहरु अनुसार भूमिका निभाउँदै जानुपर्ने हो तर त्यो पट्क्कै देखिएन । आजसम्म जेल जस्तै बनिरहयो ।

अत्याधुनिक सूचना, सञ्चार, विज्ञान र प्रविधिको विकासले शिक्षकलाई प्रतिस्थापन गरेको छ।बिद्यालयलाई बिद्यालयबाट प्रयोगशाला बनाएको छ।जीवन भोग्ने प्रयोगशाला ।एप्पलको सिरी, फेसवुकको मेसेन्जर बुट, अमेजनको एलेक्सा आदिले बिद्यालयको भूमिकालाई  परिस्कृत गरिदिएका छन् । अत्याधुनिक प्रविधिहरु कम्प्यूटर,  मोवाइल,  रोवोट, ल्यापटप,  ट्यावलेट, पाल्मटप, फ्यावलेट,  ओ.एच.पी.  स्मार्टवोर्ड,रोबर्ट   जस्ता  मल्टिमिडियाहरु  वालवालिकाको  आवश्यकता,  चाहना  र
रुचिहरु  पूरा  गर्ने  साधन  वनेर  आएका  छन्  ।  जीवन  पढाइका  र  खुशीका  आयामहरु  बनेर  आएका छन्  ।  गुगल,  विकीपिडिया,  युट्युव,  एप्स  टेक्स्ट  बनेर  आएका  छन्  ।  इन्टरनेट  वालकको
मनोसामाजिक ब्रमाण्ड बनेर आएको छ । एउटा मेमोरी कार्ड भित्रको वाइट नै शिक्षकको पुरै  विकल्पमा  र  विद्यार्थीको  सपोर्टमा  उभिएको  छ।अनि अहिलेको बिद्यालय  किन नहोस जेल जवकी प्रबिधीमैत्रीपुर्ण नभएपछी। बालमैत्री नभएपछि ।

अनलाइन  लर्निङ  (भाइवर,  इमो,  ह्वाट्सअफ, फेसबुक, लाइभ च्याट, जूम,मिट,माइक्रोसप्ट ग्रुप, ट्वीटर) भर्चुअल लर्निङ्ग,  सुपररियालिटी, भिडियो एजुकेशन , बिजुअलाइजिङ,ओबिपी, जस्ता पछिल्ला सिकाइ  शैली,  विधि  र  पद्धतीले  शिक्षकको  भूमिका  र  स्वयमलाई विकल्प  दिएको  छ  ।  त्यस्तै  अझ पछिल्ला  जीनोथेरापी,  डिजाइनर  शिशु, रोबर्ट , कृत्रिम  बौद्धिकता (AI) सम्पूर्ण रुपले  निरिह शिक्षकलाई  सिध्याउन र बिद्यालय रुपान्तरण गर्ने पर्याप्त भएका छ्न्। गुगल नै ज्ञानको संसार भएर आएको छ । बिद्यालयको परिभाषा उल्टिएको अवस्था छ।  बिद्यालय-- ईन्टरनेट , वाइटबोर्ड- स्मार्ट्बोर्ड । ज्ञानको स्रोत- गूगल  भएको अवस्था छ ।

अब अर्को कुरा गरौं । विद्यार्थीलाई सबैभन्दा बढी मनपर्छ खेल्न । खेल्दा रमाइलो मान्छ । खुशी हुन्छ । तर अफसोच बिद्यालयमा खेल्न पाउदैन् । तसर्थ सिक्न पाउदैन् । बिद्यालयलाई खेलबाट सिकाउने स्थल बनाउन सकिएको छैन् । कैद गरिन्छ, पर्खाल्भित्र  अनि कोठाभित्र । बालकलाई प्रकृतिबाट अलग राखेर सिकाउने कोसिस गरिदै छ त्यो ज्यादै घातक हो।अध्ययन ,अवलोकन र अनुसन्धानले भन्छ-- "हाम्रो गुरुकुलियन शिक्षाको बाताबरण ज्यादै प्राकृतिक र बैज्ञानिक थियो । साथै बाताबरण र बालक मैत्री ,संस्कारिक र पहिचानात्म थियो ।अंग्रेजी शिक्षाले अवशेष बनाइदियो ।"

विद्यार्थीलाई सूचना र ज्ञान थोपारिन्छ । आफ्ना अनुभव र बिज्ञ भनाउदाले भ्रम थोपर्ने काम हुन्छ स्कुलमा । न क्रियटिभिटी सिकाइन्छ, न सहकार्य गर्न दिइन्छ न त क्रिटिकल थिङ्किङ सिकाइन्छ न त प्रभावकारी कम्युनिकेशन सिकाइन्छ । सिकाइन्छ, खाली अघिल्लो पुस्ताको अनुभव जो अहिले नै कामै नलाग्ने भइसकेको छ । सिकाइन्छ म्यानुअल्ली हलो जोत्न, कोदालो खन्न । सिकाइन्छ म्यानुअल्ली धान रोप्न । कोदो रोप्न । मोबाइल चलाउन र कम्प्युटर चलाउन । गरिन्छ, केवल कोरा ज्ञानको थुप्रो । उपदेशको ठेली । अघिल्ला अनुभवहरुको । मरेका इतिहासहरुको । थोत्रा बिचारहरुको । अहिले योजना गर्दा गर्दै कार्य थाती रहन्छ ।  सिकेर गर्ने मै समय सकिन्छ गर्दै सिक्दै जाने हाम्रो परम्परा ध्वस्त प्रायः  भएको छ ।

कवि हरिभक्त कटुवालले भनेकै छ्न् नी--

"बा, पाठशाला जान्नँ म
इतिहास पढाइन्छ त्यहाँ मरेका दिनहरूको
खिया लागेका कलका पुर्जाहरू जस्तै
गणितका शुत्रहरू पनि साह्रै पुराना भइसके...।"

हो अहिले जमना कहाँ पुगिसक्यो। तर पद्धति उहीँ पुरानो छ । शिक्षा बालकलाई जीवनको तयारीको लागि दिनुपर्ने र समय भन्दा अगाडि हुनुपर्ने तर पछि पछि घिर्सिदैछ। के भन्ने मै छ के गर्ने भन्नेमा अझै पुगेको छैन् ।

अनुशासन अरुको लागि होइन, आफ्नै लागि पालना गर्नुपर्छ । के यस किसिमले अनुशासित बनाउनका लागि बच्चालाई बिद्यालयले प्रेरित गर्छ ? । के बिद्यालयले लट्ठीको डरले होइन, प्रेममय भाषाले उनीहरुलाई अनुशासित जीवनशैलीमा डोहोर्याउने  गर्छ? गर्दैन्। कडा नियम,कडा अनुशासन र कडा दण्ड अहिलेका बिद्यालयका पर्याय हुन्।त्यसैमा आफ्नो सान र मान देख्छ्न् शैक्षिक ठेकेदारहरु।मख्ख यस मानेमा छ्न् कि हामी जस्तोसुकै बालकलाई पनि ठिक लगाउछौँ।वा सुधारछौँ भन्छ्न्। हो, बनाउछ्न् एक्टिभलाई रियाक्टिभ अनि क्रीयटिभलाई डल।पिस अफ माइण्डलाई पिन ड्र्प्स साइल्यान्स । बिद्यालय त्यही ठाउँ हो जहाँ बालक रुदै डराउदै जान्छ र अर्को दिनसम्मको लागि ढुक्क हुँदै हाँस्दै घर आउँछ ।

आजका बिद्यालय बालकलाई कसरी नयाँ कामयावी कुरा सिकाउने भन्दा पनि अभिभावकहरुको दिमागमा कसरी बिद्यालयको छाप बसाउने भन्नेमा छ्न् । सस्तो र अप्राकृतिक र अस्वस्थ प्रतिस्पर्धामा लागेका छ्न्, बिद्यालय संचालकहरु ।आकर्षक बिज्ञापन गर्छ्न महँगो फी लिन्छन् । महँगोमा राम्रो पढाई हुन्छ भन्ने भ्रम छर्छ्न् । फेरि देखासेखीको लागि नै भएपनि अभिभावकले बच्चा भर्ना गर्छ्न्।कुरा ,गफ र रुल्स देखेर अभिभावक मख्ख पर्छ्न्। त्यसैले सजिलै अभिभावक फस्छ्न्। अन्त्यमा बालकको भविष्य डामाडोल हुन्छ। सञ्चालक मालामाल हुन्छ्न्। अभिभावक चाहिँ  त्यो खर्चको अनुपात मिलाउन सक्दैनन् अनि तनाव सिर्जना हुन्छ र भेजेसम्म सकेको भ्रष्टाचार गर्न पुग्छ्न्।

बच्चालाई सोध्नैपर्छ, ‘तिमीलाई कस्तो स्कुल मनपर्छ ?’

बच्चाले आफ्नै ढंगमा यसको जवाफ दिन पाऊन्। त्यही अनुशार छनोट होस।त्यही अनुसार बिद्यालय निर्माण हुन्। बच्चाको अनुकुलता अनुरुप कक्षा कोठाको बनौट, शिक्षक/शिक्षिकाको व्यवहार, पठन बिधि , खेल सामाग्री हुन्। बास्तवमा बच्चाहरु त्यही रमाउँछन्, जहाँ उनीहरुले खोजेजस्तै अनुकुलता पाउँछन् ।  त्यसले बच्चाहरुले जे चाहन्छन्, त्यो प्राकृतिक र स्वभाविक हुन्छ ।अक्सर उनीहरु हरेक ठाउँमा आफ्नो खुसी खोज्छन् । आफ्नो स्वतन्त्रता खोज्छन् । आफ्नो मनोरञ्जन खोज्छन् ।के अहिले विद्यालयले बच्चाहरुको यस्ता माग र चाहना अनुसार सिकाइको व्यवस्था मिलाएको छ ? के  अनुकुलता मिलाएको छ? मलाई त छ जस्तो लाग्दैन्। जेल जस्तै लाग्छ। तपाईलाइ नी? तर एकदिन त स्वर्ग जस्तै बिद्यालय बनाउँनै पर्छ। आजैबाट कार्य आरम्भ गरौं । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै