• २०८३ मङ्सिर ८ मंगलबार

जित कसको ओलीको !

जित कसको ओलीको !

काठमाडौँ । विहिबार राजनीतिक घटनाक्रमले एक नम्बर साबित भए केपी शर्मा ओली । शेरबहादुर देउवा, पुष्पकमल दाहाल प्रचण्ड, डा. बाबुराम भट्टराई र उपेन्द्र यादवको ओलीलाई सत्ताच्युत गर्ने सबै प्रयास असफल भयो । र अब कम्तिमा ३० दिनका लागि ओली प्रधानमन्त्रीमा पुन: नियुक्त भएका छन् ।

विहिबार खासगरी एमालेका लागि राम्रो रहयो । विभाजको अन्तिम घडीमा रहेको एमाले फेरी एक पटक फुट्छ भन्दा भन्दै जुट्ने संकेत दिएको छ । ओली र माधवकुमार नेपालबीच विहिबार भएको वार्ता सकारात्मक भयो । ओली आफु संकटमा परेको महसुस गर्दै एक कदम पछाडी हटे र नेपाल पक्षले राख्दै आएको मागलाई सम्बोधन गर्ने संकेत गर्ना साथ नेपाल पक्ष पनि तत्कालका लागि सांसदबाट राजीनामा गर्ने अडानबाट पछि हट्यो । जसको कारण देउवा-प्रचण्ड-भट्टराई-यादवको ओलीलाई सत्ताच्यूत गर्ने योजना असफल भयो र ओली फेरी प्रधानमन्त्रीमा नियुक्त भए ।

नेता नेपालले वार्ता सकारात्मक भएको र राजीनामा केहि दिनका लागि टरेको बताउना साथ सामाजिक संजाल र मिडियामा नेपाल पक्षले आत्मसमर्पण गरेको विश्लेषण भइरहेको छ । ओलीले सत्ता टिकाउन मात्र सहमति गरेको र फेरी धोका दिने विश्लेषण भइरहेको छ ।

तर नेपाल पक्षबाट हेर्दा अहिले आफुलाई सत्ताको पर्याय बनिसकेका ओलीलाई झुकाएर पार्टी एकता बचाउने रणनिति ठिक नै भन्न सकिन्छ । आफ्नो समुहको नेताको रुपमा नेपाल राजीनामा गरेर स्पष्ट विभाजनमा जाने 'रिस्क' लिने पक्षमा गएनन् । किनकी राजीनामा गरेर पार्टी विभाजन गरेको भए आफ्नो सम्पूर्ण जीवन पार्टीमा समर्पण गरेका हजारौ कार्यकर्ताको भविष्य पनि जोडिएको निर्णय हुने थियो । जसलाई सहि साबित गर्न नेपाल स्वयंलाई मुश्किल थियो ।

फेरी ओलीसँग वार्ता सफल हुनुमा अर्को कारण देउवा पनि हुन् । देउवा मनै देखि ओलीलाई च्यूत गर्न चाहदैनथे । पार्टी भित्र र बाहिरको दबाब थेग्न नसकेर नै देउवा अगाडी सरेका थिए । एमालेको नेपाल पक्षका नेताहरुले पनि नेता नेपालसँग आफ्नो पार्टी छोडेर आफ्नो राजनीतिक भविष्य दाउमा राखेर देउवालाई प्रधानमन्त्री किन बनाउने भन्ने प्रश्नको उत्तर सोधिरहेका थिए । जसको जवाफ नेपालसँग थिएन । यसको एउटै जवाफ थियो ओलीलाई हटाउन, जुन पार्टीको नेता र कम्युनिष्ट नेताको हिसाबले ठिक थिएन ।

यता संसदमा विश्वासको मत गुमाएर दबाबमा रहेका ओली नेपाल पक्षलाई मनाउन नसके सत्ताबाट हट्ने निश्चित भएको बुझेका थिए । उनले सर्वोच्चको फैसलापछि नेपाल पक्षलाई एक एक गरेर बाहिरको बाटो देखाएकै हुन् । पछिल्लो करिब एक बर्षदेखीको अन्तरसंघर्षका कारण ओली नेपाल पक्षलाई बाहिर राखेर अगाडी बढेकै हुन् । तर अहिले समयअघि नै सत्ताबाट च्यूत हुनुपर्ने अवस्था आएपछि उनी एक कदम पछाडी हटेर दुई कदम अगाडी बढ्ने रणनिति लिए । अहिलेको राजनीतिमा ओलीले अगाडी सारेका राजनीतिक कदम एक पछि अर्को सफल भएका छन् । विश्वासको मत लिने रिस्क लिएका ओली यसै बहानामा एमालेलाई फेरी एक बनाउने दिशा तर्फ लगेका छन् भने आफ्नो पद पनि जोगाएका छन् ।

निष्कर्षमा नेपालको राजनीतिमा ओलीको अगाडी अरु दल र नेता सबै फेल भएका छन् । उनलाई हटाउने लामो प्रयास एक पटक फेरी असफल भएको छ ।

अहिले कोरोनाका कारण अस्तव्यवस्त बनेको जनजीवन राजनीतिक घटनाक्रमले दिक्क नै छ । जनता आफ्नो ज्यान जोगाउन कि त घरमै छ कि त अक्सिजन र अस्पतालको लाइनमा छ । यस अवस्थामा सरकार फेरबदलको खेल आफैमा असान्दर्भिक थियो । अब केहि समयका लागि मथ्थर भएको छ ।

एमाले फुटोस नफुटोस, ओलीले जितुन या नेपालले जितुन अहिले जनतालाई कोरोनाबाट जित हासिल गर्नुपर्ने अवस्था छ । यस्तो अवस्थामा अब सरकारको ध्यान कोरोना नियन्त्रण गर्न, अस्पतालको व्यवस्थापन गर्न र अक्सिजनको अभावमा जनता मारिरहेको अवस्था छिटो अन्त्य भएको जनताले हेर्न चाहन्छन् । अब ओलीले अहिले जसरी आफ्नो कुटिल कुटनीतिक र चलाख राजनीतिक स्टेपले आफूमाथिको राजनीतिक संकटलाई परास्त गरेपछि अब कोरोना परास्त गर्ने यस्तै अचुक काम गर्नुपर्ने अवस्था रहेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै