• २०८३ मङ्सिर १० बिहीबार

संक्रमणको सुनामीका बिच भारतमा कोरोनाविरुद्धको खोपको अभाव

संक्रमणको सुनामीका बिच भारतमा कोरोनाविरुद्धको खोपको अभाव

काठमाडौँ । विश्वमै धेरै खोप उत्पादन गर्ने देश भनेर चिनिएको भारत अहिले कोरोनाविरुद्धको खोप आफ्नै लागि उत्पादन गर्न नसकेर अस्तव्यस्त भएको छ । मे १ देखि देशभर १८ बर्षभन्दा माथिका सबैलाई कोरोनाविरुद्धको खोप लगाउने अभियान शुरु गरेको भारतमा खोपको चरम अभाव भएको छ ।

कैयौ राज्यले त केन्द्र सरकारले भनेको समयमा खोप अभियान संचालन नै गरेनन् । जुलाईसम्म २५ करोड भारतीयलाई कोरोनाविरुद्धको खोप लगाउने योजना बनाएको भारत खोप अभावमा पुरा नहुने भएको छ भने कोरोना नियन्त्रण पनि प्रभावकारी नहुने संकेत देखिएको छ ।
१.४ अरब जनसंख्या रहेको भारतमा अहिलेसम्म दुई करोड ६० लाखले मात्र कोरोना खोपको दुवै डोज लगाएका छन् । त्यस्तै १२ करोड ४० लाखले पहिलो डोज लिएका छन् ।

अहिले कोरोना संक्रमणको सुनामी आएपछि खोप लगाउन हिच्किचाउनेहरु पनि खोप लगाउन अगाडी आएका छन् । विशेषज्ञहरुले दुवै डोज खोप लगाएका धेरै जसोलाई संक्रमण भएपनि अस्पताल भर्ना नै हुनुपर्ने गरि असर नगर्ने बताएपछि खोप लगाउन सबै अगाडी सरेका छन् ।

भारतमा खोप अभाव भएपछि सबै अन्तर्राष्ट्रिय प्रतिबद्धतालाई रोकिएको छ भने खोपको स्टक सकिन लागेको बताइएको छ । भारत सरकारले भनेजस्तै १८ बर्षदेखि ४४ बर्ष बीचका ६० करोडलाई खोप लगाउनु पर्ने छ । यति मात्र होइन ४५ बर्ष भन्दा बढी उमेरको २० करोड जनसंख्या छ जसलाई पनि दोस्रो डोज खोप लगाउनु पर्छ ।

यसअघि अनलाइन रजिष्ट्रेसन खुलेपनि नागरिकको रजिष्ट्रेसन गर्ने दबाबलाई रजिस्ट्रेसन एपले थेग्न नै सकेन । अहिलेसम्म एक करोड ३० लाखको रजिष्ट्रेसन भएको बताइएको छ ।

त्यस्तै अर्को तर्फ भारत सरकारले भारतमा उत्पादन हुने खोपको ५० प्रतिशत केन्द्र सरकारले शुरु गरेको खोप अभियानमा लगाउने र ५० प्रतिशत खोप निजी अस्पताल र राज्य सरकारले लिनसक्ने नियम बनाएको छ । यस्तो नियम बनाए पनि खोप उत्पादन नै सुस्त भएका कारण लागु हुन नै सकेको छैन । कोभिशिल्ड उत्पादन गर्ने सीरम इन्स्टिच्युट र कोभ्याक्सिन उत्पादन गर्ने भारत बायोटेकले अहिलेसम्म सरकारले नै गरेको अर्डर पुरा गर्न सकेका छैनन् ।

भारतको जनसंख्याको हिसाबले १८ बर्ष भन्दा माथिका सबैलाई खोप दिनपनि हरेक दिन ३५ लाख डोज लगाएमा पनि एक बर्षको समय लाग्छ । यसको तुलनामा खोप उपलब्ध नहुदा अहिले खोप सेन्टरमा लाइन देखिएको छ भने खोप केन्द्रले खोप नभएको सूचना प्रकाशित गरेका छन् ।

सीरम इन्स्टिच्युटले मे महिनामा ७ करोड डोज खोप उत्पादन गर्ने बताइएको छ भने भारत बायोटेकले २ करोड डोज उत्पादन गर्ने बताइएको छ । दुवैले गरेर यस महिनामा ९ करोड डोज उत्पादन हुदै छ । तत्काल उत्पादन क्षमता बढाउन सम्भव नभएको बताइएको छ ।

त्यस्तै भारतले रसियन खोप स्पुतनिक-भी को पनि उत्पादन गर्ने बताएको छ तर आफ्नै देशमा बनाएको खोप नै उत्पादन गण नसकेको बेला रसियन खोपको उत्पादनका लागि समय लाग्ने बताइएको छ ।        

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै